सञ्चारमन्त्री कार्कीले सुनसरी ४ बाट गराए मनोनयन दर्ता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रोपटक उम्मेदवारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिस्पर्धामा हुनुहुन्छ । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीहरू संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रशंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताए ।
यसैबीच नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । आचार्य कांग्रेसका सीताराम मेहताको प्रतिस्पर्धीका बनेर चुनाव लड्दै हुनुहुन्छ । उता नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । सुनसरी ३ मा पुन: गच्छदारको भिडन्त एमालेकी नेतृ भगवती चौधरीसँग हुँदैछ ।