Logo

चिङ्गाड गाउँपालिकाका सय दिन : नीति नियम निर्माणमा केन्द्रित

सुर्खेतको चिङ्गाड गाउँपालिकाले पहिलो सय दिन ऐन, नियम निर्माण, परिमार्जन तथा नीति कार्यक्रम निर्माणमा खर्चिएको छ ।
सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा गाउँपालिका केन्द्रित भएको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सय दिनको उपलब्धमा उक्त कुरा उल्लेख गरिएको छ । गाउँपालिकाले लैगिङ्ग समनता तथा सामाजिक सामावेशीकरण रणनीति, सार्वजनिक जवाफदेहिता कार्यविधि, मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, टोलविकास संस्था (गठन तथा संचालन) कार्यविधि निर्माण गरेको छ ।
यस्तै करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, विषयगत समिति कार्यसञ्चालन कार्यविधि, शिक्षा ऐन, कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रम सञ्चालन कार्यविधिको संशोधन गरिएको गाउँपालिकाका प्रवक्ता लालबहादुर जिसीले जानकारी दिए ।
यस्तै बन्द रहेको सामुदायिक स्वास्थ्य ईकाइ ढाँडखेत र रहकुल सञ्चालनमा ल्याइएको, सुत्केरीका लागि नि:शुल्क एम्बेलेन्स सञ्चालन गरिएको, भूमि आयोगसँग सम्झौगरी गाउँपालिकामा भूमि एकाइ गठन गरी लगत संकलन सुरु गरिएको प्रवक्ता जिसीले बताए । जिसीका अनुसार पशु पंन्छि उत्पादन तथ्यांक संकलन गर्नुका साथै गाउँपालिकाको केन्द्र र १५ शैया अस्पातलको निर्माण अघि बढाउने सन्दर्भमा सम्बन्धित पक्षसंग छलफल गर्नुका साथै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिको क्षमता विकास कार्यक्रम गरिएको छ । सय दिनमा गाउँकार्यपालिकाको ८ वटा बैठक बसेको र त्यसबाट ८५ वटा विभिन्न निर्णय गरिएको प्रवक्ता जिसीले बताए ।
गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ३९ करोेड ३८ लाख ल्याएको छ । निर्वाचित भएसँगै बजेट निर्माणको समय भएकाले त्यसमा केन्द्रीत हुनुपरेको भन्दै अबको समय बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष बोधविक्रम जि.सीले बताए । गाउँपालिकाको दीर्घकालिन विकास लक्ष्यका साथ नीति कार्यक्रम र योजना निर्माण गरिएको अध्यक्ष जिसीको भनाइ छ । पाँच वर्षे कार्यकालमा काम गर्नका लागि बाटो तयार गर्ने काममा पहिलो सय दिन केन्द्रित भएको अध्यक्ष जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्