‘भिजिट नेपाल २०२०’बारे अन्तरक्रिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष सपीला राजभण्डारीले भिजिट २०२० को कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएकी छिन् । भिजिट नेपाल २०२० लाई सफल बनाउनको लागि आयोजित गरिएको सो कार्यक्रममा संघका उपाध्यक्ष राजभण्डारीले गैरआवासीय नेपाली संघले विभिन्न मुलुकहरुमा नेपालको कला संस्कृतिलाई पहिचान गराउन नेपाल फेस्टिभलका साथै प्रबर्धन सम्बन्धी विविध कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराएकी छिन् ।
उनका अनुसार संघले २०१९ लाई नेपाल भ्रमण वर्ष २०२० को तयारी वर्षका रुपमा मनाइरहेको छ । साथै उनले संघले निर्माण गरेको लाप्राक नमूना वस्तीलाई एक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताइन् । उनले नमूना बस्तीमा रहेका समूदायहरुलाई होमस्टेको तालिम दिनको लागि सरोकारवालाहरुसँग समन्वय भइरहेको पनि जानकारी गराइन् । यसरी नै उपाध्यक्ष राजभण्डारीले पर्यटकहरुलाई आकर्षित गर्नको लागि सडक र हवाई सुरक्षाका साथै नेपाललाई सपिङ डेस्टिनेसनका रुपमा समेत विकास गर्न सकिने र यसतर्फ पनि ध्यान गए पर्यटन प्रबर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले आफ्नो प्रस्तुतिकरण गर्दै यसलाई भव्य रुपमा सफल गर्नको लागि सहभागीहरुसमक्ष सुझावको लागि अनुरोध गरे । कार्यक्रमको सभापतित्व गरेका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले मन्त्रालय र सरकारले पर्यटन प्रबर्धनका लागि गरेका कार्यहरुको जानकारी दिँदै सबैको सहयोगबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने धारणा राखे ।