Logo

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको आग्रह

उम्मेदवारी दर्ता आज

आगामी मंसिर ४ गते आइतबार एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (आइतबार) प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गरे ।
“उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान तथा विद्यमान कानुनको व्यवस्था तथा मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आयोग विशेष आग्रह गर्दछ,” प्रमुख आयुक्त थपलियाले भने ।
आयोगका अनुसार आइतबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि समय दिएको छ । मनोनयन दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाएको जानकारी दिँदै प्रमुख आयुक्त थपलियाले दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदातासमक्ष पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आयोगको तर्फबाट आह्वानसमेत गरे ।
आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकिएको बताए ।

सहयोगका लागि अनुसन्धान गर्ने निकायसँग आग्रह
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरुमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी दिन आग्रह गरेको छ ।
आयोगले निर्वाचन आयोगसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेकाले निर्वाचमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनशायले निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन सम्बन्धित नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई आग्रह गरेको हो ।
उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अयोग्य व्यक्तिको उम्मेदवारी परेको खण्डमा समयमा नै निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आग्रह गरे । उनले नेपालमा अनुसन्धान गर्ने निकायहरु: नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धिकरण लगायतका निकायहरुले उक्त उम्मेदवारविरुद्ध मुद्दा परेर अनुसन्धान भइरहेको बारेमा जानकारी गराए आयोगले सक्रिय रुपमा त्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनत: कारबाही गर्ने बताए ।
उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यता र अयोग्यताको बारेमा स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा पनि उम्मेदवारको योग्यताको बारेमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उम्मेदवार हुने कुनैपनि उम्मेदवारले म कुन पदमा उम्मेदवारी दिँदैछु र त्यो पदमा उम्मेदवारी दिन म योग्य छु कि छैन भनेर स्व:घोषणा आफैँले गर्नुपर्ने बताए । उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भने त्यही पदमा उम्मेदवारी दिने अर्को व्यक्तिले यथेष्ट प्रमाणसहित उजुरी दिएपछि उजुरी सत्य ठहरिए उम्मेदवारी बदर हुने बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्व:घोषणा गर्नुपर्ने व्यवस्था छ । मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भइ स्व:घोषणापत्रमा दस्तखत गर्नुपर्नेछ ।

मतदानको दिन गाडी चल्ने
आगामी मंसिर ४ गते हुने निर्वाचनमा यातायातका साधन व्यवस्थित ढंगले सञ्चालन गर्न दिने निर्वाचन आयोगले बताएको छ । आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानका दिन पनि यातायात चल्न दिने बताएका हुन् ।
विगतका निर्वाचनमा मतदानका दिन सार्वजनिक सवारीको प्रयोगमा रोक लागाइने गरेको थियो। आवश्यक पर्नेले सिफारिसपत्र बनाएर मात्र सावरी चलाउन पाउँथे । निर्वाचनको दिन अशक्त तथा वृद्धवृद्धालाई असहज हुने भएकोले पनि उक्त दिन सवारी चल्न दिइने प्रमुख आयुक्त थपलियाले बताएका छन् ।
“अशक्त तथा वृद्धवृद्धा लगायतलाई लक्षित गरेर मंसिर ४ गतेको दिन हामीले व्यवस्थित ढंगले यातायत सञ्चालन गर्ने भन्ने निर्णय गरेका छौं । त्यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरी सम्मिलित एउटा कार्यदल गठन गरेका छौं । त्यसले दिएको सुझावका आधारमा आयोगले व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिन्छ,” थपलियाले भने, “विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको दिन हो भन्ने कुरा सुन्नुपर्ने छैन ।”

प्रतिक्रिया दिनुहोस्