पूर्वप्रधानमन्त्री डा. भट्टराई चुनाव नलड्ने «

पूर्वप्रधानमन्त्री डा. भट्टराई चुनाव नलड्ने

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् ।
अघिल्लो प्रतिनिधि सभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले आफू संसदीय राजनीतिबाट टाढा बस्ने भन्दै राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गरे । संसद बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पार्दै नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको उनले बताए । उनले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताए ।
भट्टराईले आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पार्दै आफूले कुनै च्याखे नथापेको पनि बताए ।
उनले भने – ‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पु¥याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नको लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन ।’
उनले आफूले छोरी मानुषी यमी भट्टराईको लागि ठाउँ खालि गर्नका लागि सो निर्णय नगरेको पनि स्पष्ट पार्दै छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उनले बताए । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको पनि उनले बताए ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने पनि बताए । उनले आफू समाजवादी धार बनाउन क्रियाशिल हुने पनि बताए । उनले राज्यका अंगहरुमा भइरहेको भ्रष्टीकरण, शासकीय स्वरुपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसदबाहिरको सबै ठाउँबाट क्रियाशिल हुने बताए । उनले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो सत्तारुढ गठबन्धनमै रहेको पनि बताए । उनले भने – ‘म गठबन्धनकै अंग छु अहिले । त्यो राम्रो होस् । सफल होस् । कमसेकम प्रतिगमनतिर देश नजाओस् । संविधानबाट प्राप्त उपलब्धि छन् त्यो नगुमुन् भन्नेमा म छु । मेरो शुभकामना यो गठबन्धन कायम रहनुपर्छ । यसले चुनावमा विजय हासिल गरोस् भन्ने मेरो शुभकामना ।’
उनले पूर्वप्रधानमन्त्रीहरुलाई पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरुले निर्वाचनमा नउठि पार्टीभित्रको राजनीतिक कामहरु गर्न आग्रह गरे । उनले भने – ‘हामी पूर्वप्रधानमन्त्री भइसकेका मानिसहरुले आफ्नै पार्टीभित्र राजनीतिक कामहरु गर्ने नि । अरु साथीहरुलाई संसदीय दलको नेताहरुमा अगाडी सार्ने त्यो पनि गर्न सकिन्छ । दलहरु बिग्रनुको पछाडी खासगरी कम्युनिष्ट, समाजवादी पार्टीहरुमा सत्ताभन्दा जनपरिचालन र पार्टीको काम प्रमुख हो भन्ने हुन्छ । तर हामी सबै सत्तामा जाँदा बिग्रियो ।’
डा. भट्टराईले पुरानै शासकीय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्