Logo

चाडपर्वलाई भावनात्मक र रचनात्मक बनाउनुपर्छ । देखावटी र व्यापारमा बल दिएका कारण हाम्रा मौलिकता हराएर गएका छन् ।

चाडपर्वलाई व्यापार नबनाऊँ

करिब ८१ प्रतिशतले दसैँ र लगभग सय प्रतिशतले नै तिहार मानिन्छ देशमा । योबाहेक अन्य चाडहरू पनि धूमधामका साथ मनाइन्छ । सबै धर्मावलम्बीका चाड अनेक र रीतिरिवाजमा विविधता छ । तर, हामीले चाडपर्वमा हुने किनमेल र अत्यावश्यक खर्चबाहेक लिनेदिने खर्च र त्यसलाई नजिर बनाउँदै जाँदा कतै चाडको गरिमा स्खलन गराएको त छैनौँ भन्ने कुरा बिर्संदै गएका छौँ । पर्वमा हुने लेनदेनले गर्दा यसको मौलिकपन र भेटघाट साथै आशीर्वाद कुनामा पुगेको छ भने जताबाट पनि चाडलाई आर्थिक पक्षसँग जोडिदिँदा दैनिकी झनै असहज बन्दै गएको छ । उसै पनि महँगीले माथि उठ्न नसकिरहेको यो विषम समयमा यस्ता अचाक्ली खर्चले नेपालीको जीवन झनै अँध्यारोमा फस्न पुगेको छ ।
मावलमा दसैँमा हिँडेर टीका थाप्ने र कटकटाउँदो रु. १० सहितको आशीर्वाद लिने परम्परा त कथाजस्तै बने । अहिले त मावलबाट कतिको व्यापार गरेर आयौँ पो भनिन्छ । तिहारको त्यो मौलिकता, भेटघाट अनि दु:खसुख साटासाट त अहिले हराए । टीका लगाएपछि पाइने कपडा र त्यसको बदलामा पैसा । यसरी साटिन थालियो र तौलिन थालियो चाडपर्व । अब भनौँ, के चाडपर्व पैसा केन्द्रित भएको हो ? व्यापार बनाइएको हो ? व्यापार बनाइएको हो भने त सकिइहाल्यो तर होइन भने यी सब त्यही दिन किन भइरहेका छन् ? हामीले संस्कृति बिर्संदै गएका हौँ, नत्र हामी किन त्यस कुरालाई प्राथमिकतामा पारिरहेका छौँ ? यी सबै प्रश्नहरू हाम्रा सामु उभिएका छन् । यसकै कारण रहरमा मानिनुपर्ने चाडहरू कहरको भारी बोकेर मनाइरहेका छौँ भन्दा दुईमत नहोला । हिजोआज चाडपर्वका नाममा दिनहुँ विकृति बढ्दै गइरहेको छ । कुन चाडपर्व के–कस्तो किसिमले मनाइनुपर्ने हो र वास्तविक पर्वको महŒव कुुन कुरामा गाँसिएको छ भन्ने कुरा आजको परिवेशमा पर्व मनाउने मानिसहरूलाई पनि थाहा छैन । चाड मनाउने बहानामा रमाइलो, मोजमस्ती, जाँडरक्सी, बियर पिएर, माछामासु खाएर, अनावश्यक तडकभडक गर्ने अनि आयातित संस्कृतिलाई प्रोत्साहन गरी मनाउने गरेको पाइन्छ, जसले गर्दा हाम्रो सांस्कृतिक पर्वको वास्तविक पहिचान हराउने खतरा बढेर गएको छ ।
देश पूर्णतया परनिर्भर छ । भनिएका ६० हजार उद्योगले रोजगारी सिर्जनाभन्दा पनि ऋण लागेर विदेश खेदेको अवस्था छ । कृषिमा कुरा बढी र योगदान ऋणात्मक छ । सरकार युवालाई जतिसक्दो चाँडो देश निकालेर रेमिट्यान्स कुरेर बस्छ । हरेक जनताका छोराछोरी हामीले विदेशको लागि पाइरहेका छौँ भन्ने दु:खद अवस्था विद्यमान छ । रेमिट्यान्स देश भित्रिएन भने दैनिकी गर्जो साथै चाडबाड असम्भवजस्तै छ । दैनिक भित्रने लास बिर्सिएर हामी उतैको यात्रा र त्यहाँकै गर्व सुनाउनमा व्यस्त छौँ । रेमिट्यान्सले भिœयाएको बेथिति हामीले बिर्सेका छौँ र उतैको भजन गाउन व्यस्त छौँ । त्यसकै प्रभावमा आज महँगी बढेको छ । दैनिकी असहज बन्दै गएको छ । सबैतिरको भाउ बढेको छ । छिट्टै धनी हुने सपना बढेको छ र प्रतिव्यक्ति ऋण पनि त्यसकै कारणले बढेको छ । क्षणिक सुखमा हामीले दीर्घकालीन पीडा भोगिरहेका छौँ र परनिर्भरतालाई बढवा दिइरहेका छौँ ।
अन्य चाडहरूभन्दा पनि दसैँतिहार धेरै खर्चिलो चाड बनेको छ । नसकेर पनि देखाउनुपर्ने, मान्नैपर्ने बनेको यी चाडहरूले नेपालीले वर्षैभरि कमाएको एकैछिनमा स्वाहा बन्नुपर्ने र चाड सकिएपछि खुइई… गर्नुपर्ने र ऋणको भारी सुनाउँदै हिँड्नुपर्ने बनेको छ । कमाइ नहुने/कम हुनेहरूका लागि हुने असन्तुलित अवस्थाले चाड मनाउन परिरहेको समस्या वर्षौंदेखि उस्तै रहँदै आएको छ । चाड त आयो तर त्यसलाई सहज व्यवस्थापन गर्न नसक्दा ऋणग्रस्त स्थितिमा वृद्धि हुन गई जनजीवन क्षणभरमा असामान्य बनाइदिएका दृश्यहरू हामीले भोगिरहेकै छौँ । यसपटक पनि प्रकोप र अर्थतन्त्र स्वाहा भएको अवस्थामा मुख्य चाड घरदैलोमा छिरेको छ । प्रगाढ सम्बन्ध विस्तार सँगै अर्थको चलखेल हुने यी पर्वमा बजार, वस्तु, यातायात तथा अन्य क्षेत्र क्रमश: चलायमान बने र बनिरहेका छन् ।
पर्वसँगै आउने नयाँ–नयाँ सोच, सुविधा र महŒवकांक्षाहरू यस्तै समयमा मात्र उत्पन्न हुने अनि क्रमश: सेलाउँदै जान्छन् । पुग्नेले पूरा गर्छन् त नपुग्नेको त्यसै रहन्छ, आशाचाहिँ जीवित राखेर । खाने, किन्ने र प्रयोग गर्ने यस्ता चाडबाडहरू बर्सेनि आउँछन्, कुनै–कुनै अविस्मरणीय घटना जन्माउँदै बिदा हुन्छन् । अनि लगत्तै अर्को उखान बजारमा निस्कन्छ…. आयो दसैं ढोल बजाई, गयो दसैँ ऋण बोकाई । जत्ति नै धार्मिक र सामाजिक कुरा गरिए पनि वित्तीय स्रोतको अभावमा यी कुराहरू सम्भव देखिँदैनन् । यसकारण पनि चाडबाडको धड्कन नै आर्थिक पक्ष हो भन्न सकिन्छ । किनकी दह्रो स्रोत नभईकन चाडका विभिन्न पक्षहरूसँग चिनजान हुन कठिन छ । सम्बन्धहरू पैसामा रूपान्तरित भइसकेका छन् । सामाजिक प्रक्रियालाई साथ दिन ऋण काढेरै भए पनि चाडपर्वलाई टार्नैपर्ने बाध्यता हामीमाझ, त्यसपछि त बमबम भोले त छँदै छ ।
चाडबाडहरूले टाढाटाढा रहे/भएका इष्टमित्रहरूलाई एकै जालोमा केन्द्रित गर्ने, रिसराग भए मेटाउने प्रयास गर्ने हुनाले पनि यसको छुट्टै सामाजिक–धार्मिक महŒव छ । अन्य वर्षहरूको भन्दा यस वर्ष मानिसहरूको आगमनसँगै विप्रेषणको आदान–प्रदान बढी देखिएको छ, जसका कारण स्थानीय क्षेत्रमा विशेष वस्तु तथा अवश्यकताअनुसार प्रयोगमा उल्लेख्य वृद्धि देखिएको छ । पर्वले सुनसान गाउँहरू देशी–विदेशी मानिसहरूले झकीझकाऊ भएका छन्/हुँदै गएका छन् । अब केही समयमै पुराना लिङ्गे र रोटे पिङहरू क्रमश: ठडिन थाल्नेछन्, तर धेरै कम । परम्परागत शैलीका पिङमा काठका रोटे पिङ त हराएरै गयो, तर लिङ्गे पिङचाहिँ अझै पनि लगाउने गरिन्छ । मौलिकता हराएकै भए पनि गाउँ केही समय जुट्ने छ अनि क्रमश: सेलाउनेछ । चाडले गाउँको अर्थतन्त्रमा ह्याट्रिक गर्छ भन्दा अनुपयुक्त नहोला ।
आधुनिकतासँगै सबै पक्षमा आधुनिकीकरणले जरा गाड्दै जाँदा यस्ता परम्परागत प्रविधि र मौलिक उत्पादनहरूको भने माग बढेको बढ्यै छ । आवश्यकता वृद्धिलाई चाडबाडका लागि मात्र नभएर प्रविधिको संरक्षणमा भएको अग्रसरता भनेर बुझ्न पनि सकिन्छ । तर, प्रयोगमा कमी आउनुले संरक्षण प्रयासमा कमी भएको कुरालाई नकार्न सकिँदैन । दसैँमा भुइँ छाड्नुपर्छ भन्ने परम्पराले गर्दा पनि हुन सक्छ, पिङको संख्यामा कटौती भए पनि लगाउन भने छाडिएको छैन । जति टाढा नै भए पनि त्यसको मज्जा लिनकै लागि मानिसहरू एकै ठाउँमा भेला हुने गरेका छन् । भएका दु:खसुख साटासाट गर्दै मनोरञ्जनमा परिणत गर्छन् र एक क्षणलाई भए पनि आनन्द प्राप्त गर्छन् । यसले भ्रातृत्व र भाइचाराको सम्बन्धमा महŒवपूर्ण थप योगदान दिने गरेको छ । अर्थात् जसरी बुझे पनि दसैँले हरेक पक्षबाट छरिएका सबैलाई एकीकृत गर्दै लैजान मद्दत गरेको छ भन्दा फरक नपर्ला ।
दसैँसँगै बढेको अस्तव्यस्त यातायातले यसपटक पनि सेवामा सुगम केही स्थानबाहेक अन्य ठाउँहरूमा सेवामा नयाँ शैली र प्रवाहमा प्रगति गरेको देखिएन । टिकट बुकिङ, सेवामा लापरवाही, समयको ढिलासुस्ती, ठगी, अराजकता छ्यापछ्याप्ती देखिएको छ । यसपटक टिकट बुकिङ पहिले नै बन्द गरिएका थिए भने रहेका सिटहरू पनि पछडिका मात्र । सिट माग्दा आफ्ना ग्राहकहरूले अग्रिम बुकिङ गरेर सकिएको अपर्याप्त सूचना दिन पछि परेका छैनन् । खुलेकै छैन सकिएको जानकारी दिनुले यस क्षेत्रमा रहेको विकृत सेवा प्रणालीमा निरन्तरताबाहेक नयाँ केही नभएको यसपटक पनि स्पष्ट देखियो । तर, फेरि अर्कातिर सधैंजसो भरिभराउ हुने आन्तरिक हवाईसेवा यसपटक केही स्थानमा बाहेक अरू ठाउँमा टिकटको उपलब्धतामा कुनै कठिनाइ नरहेको विमान सेवाप्रदायक संस्थाहरूले भने पनि टिकट नपाएर दु:ख पाउनेको संख्यामा पनि कमी छैन । विदेश उड्न सस्तो छ यहाँ तर देशकै भागको हवाई भाडा छोइनसक्नु बनेको छ । निकायको हदैसम्मको लापरवाही देख्न सकिन्छ ।
चाडबाडमा अगाडिका वर्षहरूका अभ्यासले के देखाउँछ भने प्राय: सम्पूर्ण क्षेत्रहरूमा कृत्रिम अभाव देखाई मूल्यमा मनपरीतन्त्र लादेको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् । त्यस कुरालाई मध्येनजर गर्दै सरोकारवालाहरूले बजार निरीक्षण कार्यलाई नियन्त्रणभन्दा बहिर जान दिनु हुँदैन र केही तन्त्रलाई समयमै निरुत्साहित गर्नुपर्छ । धर्म र भेटघाटलाई निरन्तरता दिने सवालमा अनेक शुल्क वृद्धि गराई बजार अस्तव्यस्त पार्नु हुँदैन । महँगीलाई नियन्त्रणमा राख्नुपर्छ । तर विविध कारणले यसपटकका चाडहरू महँगीको अचाक्ली मारमा परेको छ । केही चिज छोइनसक्नु छन् । छोटो समयमा धेरै कमाउने ध्येयलाई प्रभावकारी निरीक्षणले हटाउँदै सद्भावका साथ चाडलाई मनाउन पाउने वातावरण बनाउन सक्नु वर्तमान नेतृत्वको दम देखिनुपर्छ । आर्थिक गतिविधि बढ्दै गर्दा हुन सक्ने जोखिमताको ख्याल गर्दै ज्यानै बिगार्ने र आर्थिक रूपमा पनि भड्किलो गतिविधि अवलम्बन गर्ने गलत शैलीको निरन्तरतालाई रोक्न सक्नुपर्छ । यसो गर्न सकियो भने मात्र चाड पनि मान्ने र ऋण पनि नलाग्ने तथा सद्भावको निरन्तरतामा कमी हुने छैन ।
चाडपर्वलाई भावनात्मक र रचनात्मक बनाउनुपर्छ । देखावटी र व्यापारमा बल दिएका कारण हाम्रा मौलिकता हराएर गएका छन् । यसलाई व्यापारीकरण गरिनबाट रोक्नुपर्छ र मात्र ठूला चाडहरू सभ्य र रैथाने बन्नेछन् । हामीले बचाए संस्कृति जीवन्त रहन्छ, संस्कृति हाम्रो चिनारी हो । यस्ता विशेष पर्वहरूलाई बचाउनु आजको अपरिहार्यता हो । सरकारले पनि हाम्रो संस्कृति हाम्रा अमूल्य गहना हुन भन्ने बुझ्न जरुरी छ भने हामी आमसर्वसाधारणले पनि संस्कृतिको उचित सम्मान, मान–मर्यादामा रहेर चाडपर्व मनाउन अनुरोध गरौँ, जसले गर्दा भावी पुस्ताले नि वास्तविक चाडपर्व देख्न र अनुभव गर्न सकून् । साथै पुस्तौंपुस्तासम्म हाम्रो रीतिरिवाजलाई हस्तान्तरण गर्न सकियोस् । हामीले खोजेको चाड पनि यस्तै हो । शुभकामना !

प्रतिक्रिया दिनुहोस्