सामुदायिक वनको जग्गा उपभोग गर्ने आयोजनासँग सेयर माग

कुनै पनि विकास आयोजना निर्माणको क्रममा सामुदायिक वनको जग्गा उपभोग गरिएको खण्डमा समुदायिक वन उपभोक्ता समूहलाई आयोजनाले सेयर उपलब्ध गराउन माग गरिएको छ । मुलुकभरका सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले आयोजना निर्माणको क्रममा समुदायिक वनको जग्गा प्रयोग गरिएमा सेयररको माग गरेको हो ।
सामुदायिक वनको जग्गा उपभोग गरेवापत आयोजनाबाट सामुदायिक वन उपभोक्ता समूहरुरले अहिलेसम्म कुनै लाभ पाउन नसकेको भन्दै फेकोफनले आपत्ती जनाएको छ । खाली रहेको भू–भागका मेहेनेतका साथ समूहरुले वृक्षरोपण गरेर वन संरक्षणमार्फत नाग्गा डाडाँहरु हरियाली बनाउन भूमिका खेलेको भन्दै फेकोफनले अब आयोजना निर्माणको क्रममा जग्गा उपभोग गरेमा सेयर उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
फेकोफनकी अध्यक्ष भारती पाठकले विकास आयोजना निर्माणका लागि सामुदायिक वनको जग्गा उपभोग गर्ने भनी व्यापक दवाव सिर्जना हुँदै आएको अवस्थामा आफ्ना कानूनी अधिकार सुनिश्चित नभएको भन्दै आपत्ति जनाएकी छिन् । “हामीले जति माग गरे पनि अहिलेसम्म हाम्रो कानुनी अधिकार सुनिश्चित हुन सकिरहेको छैन, जस्तै क्षतिपूर्ति पाउने, कटान गरिएका काठ समूहले पाउने, आयोजनाको सेयरर तथा लाभमा हिस्सेदार हुन पाउने, सञ्चालक समितिमा प्रतिनिधित्व हुने आदि हाम्रा अधिकार सुनिश्चित् गरेर मात्र उपभोक्ता समूहबाट सहमति पत्र उपलब्ध गराउने तर्फ सचेत हुनुपर्छ,” उनले भनिन् ।
फेकोफनले सरकारसँग सामुदायिक वनको लालपूर्जा समेत माग गरेको छ । तर सरकारले भने सामुदायिक वन उपभोक्ता समूहलाई वनको संरक्षण र उपभोगको अधिकरा दिए पनि लालपूर्जाको अधिकार भने दिन नसकिने बताउँदै आएको छ । “सरकारले त संरक्षण र वनको उपभोग गर्ने अधिकार दिएको हो, तर सामुदायिक वनको लालपूर्जा त कहाँ दिन सक्छ ?” वन तथा वातावरण मन्त्रालयकै एक उच्च अधिकारीले भने, “अहिले आएर सामुदायिक वनको जग्गा प्रयोग गरे वापत लाभांश खोजिएको रहेछ आयोजनासँग, सरकारको जग्गा हो जग्गा आयोजनालाई दिने या नदिने, आयोजना जग्गा उपलब्ध गराएवापत आयोजनाको दायित्व के हुने ? भन्ने बिषयमा सरकारले नै निर्णय गर्ने हो ।”