वन कार्यालयद्वारा डस्टबिन वितरण

सहर सफा राख्नका लागि डिभिजन वन कार्यालय दोलखाले दोलखाका दुई नगरपालिकालाई फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । वन कार्यालयले आफ्ना वार्षिक कार्यक्रमबाट भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई डस्टबिन वितरण गरेको हो ।
फोहोरलाई वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन गर्नका लागि रातो र हरियो रंगको डस्टबिन वितरण गरेको हो । भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा राख्नका लागि ५० जोर, जिरी नगरपालिकालाई ४० जोर र सिंगटी बजारका लागि १० जोर डस्टबिन वितरण गरेको डिभिजन वन कार्यालय दोलखाका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि घरघरबाटै छुट्याएर कुहिने र नकुहिने फरकफरक दिनमा फोहोर संकलन गर्न थालेको छ । चरिकोट बजारमा लालिगुँरास युवा क्लबले व्यवस्थापन गर्छ भने जिरी नगरपालिकामा जिरी उद्योग वाणिज्य संघ र सिंगटीमा दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाले व्यवस्थापन गर्नेछ ।
भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरले नगरपालिका फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा लागेकाले वन कार्यालयले उपलब्ध गराएको डस्टबिन वातावरण संरक्षण र सफा सहर बनाउन सहयोगी हुने बताए । सहर सफा राख्न फोहोरलाई घरघरमै कुहिने र नकुहिने भनेर वर्गीकरण गर्ने काम सुरु भइसकेको बताए ।