उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् ।
प्रदेश–१ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सबै पर्यटकलाई प्रमुख गन्तव्यहरूको बारेमा जानकारी दिने, होटल र ट्राभल्सलगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरूकै जानकारी राख्ने काम सूचना केन्द्रबाट हुने जनाइएको छ । राउतले अहिले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना नभएकाले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए ।
“विराटनगरको रानी नाकामा पर्यटन हेल्प डेस्क राख्न हामीले लामै समयदेखि माग गर्दै आएका छौं,” उनले भने, “तर सरकारले यो माग अहिलेसम्म सम्बोधन गरेको छैन, अब महासंघअन्तर्गतकै सूचना केन्द्रले विराटनगरको पर्यटनका विषयमा काम गर्नेछ ।”
प्रदेश–१ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भन्दै उनले पर्यटन प्रवद्र्धनको लागि १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटकलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्ने राउतको भनाइ छ । महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत सूचना केन्द्र स्थापना गरिएको राउतले जानकारी दिए ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरूलाई सहज हुने बताए । पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो । पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । १४ वटै जिल्लाका पर्यटकीय स्थलहरूको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, साहासिक पर्यटन सम्बद्ध कम्पनीहरू, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटललगायतका जानकारीहरू सूचना केन्द्रमा रहने उनको भनाइ छ । सूचना केन्द्रमा पर्यटनसम्बन्धी जानकारी दिनसक्ने दक्ष जनशक्तिको लागि प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको महासंघले जनाएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश–१ का सदस्य रविन दाहाल, उद्योगी देवकीनन्दन अग्रवाल, सन्तोष चौधरी, पर्यटन व्यवसायी राजन श्रेष्ठलगायतले पर्यटन पर्यटनमा तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।