प्राविधिकलाई अभिमुखिकरण «

प्राविधिकलाई अभिमुखिकरण

गुल्मीमा कृषि तथा पशु सेवा प्राविधिकका लागि अभिमुखिकरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीको आयोजनामा जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा उक्त अभिमुखिकरण गरिएको हो ।
यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकका लागि पकेट/ब्लक विकास कार्यक्रम संचालनसम्बन्धी अभिमुखिकरण गोष्ठी गरिएको परियोजनाका प्रमुख गंगा पोखरेलले जानकारी दिइन् । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यो कार्यक्रम गरिएको उनले बताइन् । त्यस्तै, समयमै प्रगति विवरण उपलब्ध गराउन परियोजना प्रमुख पोखरेलले कृषि तथा पशु सेवा प्राविधिकलाई निर्देशन दिइन् । उनले प्रगति विवरणअनुसार आगामी कार्यक्रम बनाउन सहज हुने बताइन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पकेट विकास कार्यक्रमबारे परियोजना कार्यान्वयन म्यानुअलमा रहेको व्यवस्थाका बारेमा जानकारी गराए । पकेट कार्यक्रमलाई कसरी सञ्चालन र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबै लाग्नुपर्ने उनले बताए । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले कृषि तथा पशु सेवा प्राविधिकले कार्यक्रमको महत्व बुझेर पहिलो चौमासिकभित्र कृषि र पशु क्षेत्रमा योजना बनाउन निर्देशन दिए । प्राविधिकहरू आफूहरू पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँंग समन्वय गरेर निरन्तर काम गर्नुपर्ने बताए ।
अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका भरत काफ्लेले कृषि तथा पशु सेवासम्बन्धी मन्तव्य राखेका थिए । उनीहरूले कृषकको सहजताका लागि यहाँहरूको महत्वपूर्ण भूमिका रहेको बताए । कृषि तथा पशु सेवा प्राविधिकले स्थानीय तहमा भएको कृषि र पशुसम्बन्धी जानकारी गराएका थिए । जोन क्षेत्र विस्तार गर्नका लागि असोज मसान्तभित्र कार्यपालिकाको निर्णय गराउन सबै प्राविधिकलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्