समानुपातिक सूचीमा शेखर समूहको असन्तुष्टि

पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेपाली कांग्रेसमा नेता डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौँमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नसच्याए पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
सभामा नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दबाक दिए । नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरुलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्न सचेत गराए ।
उनले भने, “म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईंहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टीभित्र विद्रोह हुन्छ ।”
अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिए । उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटबाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा समेत गरे । नेता शाहीले भने, “निर्वाचनमा टिकट पाइन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिँदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।”
नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विदोह गरेर अघि बढ्न बाध्य हुने बताए । सभापति शेरबहादुर देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए ।
नेता केसीले भने, “हामीलाई न्याय हुनुपर्यो । सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिकतर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढ्छौं ।” नेता केसीले देउवा पार्टीको सभापति भए पनि भित्र एक पक्षीय ढंगले अघि बढेकाले त्यसको विरोध गर्नुपरेको बताए ।