Logo

नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने तयारी

विपद् सूचना व्यवस्थापन प्रणाली लागू गरी आफ्नो पालिका भित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बाँकेको नरैनापुर गाँउपालिकाले तयारी थालेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि विपद् पोर्टल तयार गर्न लागेको हो ।
पोर्टल सञ्चालनका लागि संस्थाले बुधबार पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालाको आयोजना समेत गरेको छ । कार्यशाला सहजीकरण गर्दै आईएचआरआरका टिम लिडर सुरज गौतमले आफूहरूले उक्त कार्यमा प्राविधिक सहयोग गर्ने जानकारी दिदै यसले पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राखी विपद् व्यवस्थापनमा सहयोग पुग्ने बताए । ‘पोर्टलले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न सहयोग पुग्ने छ’ उनले भने ‘स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउन समेत यो उपयोगी हुनेछ ।’
कार्यशालामा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तै: भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिने बताए । उनले चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने भन्दै गाँउपालिकासँग सहकार्य गरेर वडा स्तरीयबाट तथ्याक संकलन गरी २ महिना भित्रै पोर्टल संचालनमा ल्याउने तयारी गरेको जानकारी दिए ।
पोर्टल सञ्चालनमा ल्याउनका लागि एसडिएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मान्नधरले प्रकोपसम्बन्धी कागजात, स्थानीय, वार्ड र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी रहने बताइन् । स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजना सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न पोर्टल संचालनमा ल्याउन जरुरी रहेको उनको भनाइ थियो ।
अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी थाहा पाउने भएकाले स्थानीयस्तरमा निकै उपयोगि हुने बताए । यस प्रविधिमार्फत विपद् सम्बन्धी विभिन्न तथ्यांक र सूचना लिन सहज हुने भएकोले पोर्टल सञ्चालनका लागि गाँउपालिकाले सहयोगी भूमिका खेल्ने उनको भनाई थियो । कार्यक्रममा नरैनापुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका संघ–संस्थाबाट तयार गरिएका सूचना तथा तथ्यांकले गाँउपालिकाको रणनीति योजना बनाउन सहज हुने बताए । उनले पोर्टल संचालनमा आइसके पछि सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्