सूर्यबहादुर थापा सफल प्रधानमन्त्री: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए । उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे । उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने बताए । प्रधानमन्त्री देउवाले स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको पनि उल्लेख गरे ।