Logo

आज सगरमाथाको आधार शिविरमा विशेष कार्यक्रम गरिने

व्यस्त मानिस सधैं मस्त रहन्छ, अनि खुसी हुन्छ : ऋषि धमला

विश्व कृतज्ञता दिवसको अवसरमा भोलि (बुधबार) विश्वकै सर्वोच्च शिखर सगरमाथामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका अभि प्याकुरेलको संयोजकत्वमा संसारकै अग्लो स्थान सगरमाथाको फेदी कालापत्थरमा सो दिवसको दिन विशेष कार्यक्रमको आयोजना गरिने भएको हो ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको उद्देश्यबारे जानकारी दिइएको हो । कृतज्ञता दिवस विश्वभर २१ सेप्टेम्बरका दिन मनाउने गरिन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै पत्रकार भुवन गुरागाईंले कृतज्ञता दिवसको अवसरमा अभि प्याकुरेलको पहलमा पाँच जनाको टोली आधार शिविरतर्फ जान लागेको जनाए ।
कृतज्ञता नभए जीवनमा विभिन्न समस्या आउने भन्दै उनले मानिसको जीवनमा कृतज्ञता हुँदा हरेक समस्याका समाधान हुन सक्ने बताए । उनले भने, “विश्व हेल्थ अर्गनाइजेसनको तथ्याङ्क हेर्ने हो भने विश्वभरमा वार्षिक ८ लाख मानिसले आफ्नो प्राण आफंै लिइराखेका छन् । युवासहित विभिन्न उमेर समूहका व्यक्तिहरूले आत्महत्याजस्ता घटना घटाइरहेका छन् ।”
मानिसहरूले आफ्नै राम्रा चिजमा ध्यान नदिँदा कसैले सानो कुरा भन्दैमा पनि निराशा छाउने र नकारात्मक शक्ति हावी हुने उनको भनाइ थियो । उनले नेपालबाट नै आफूहरूले विश्वभरि कृतज्ञताको बाढी ल्याउन खोजेको स्पष्ट पारे ।
प्याकुरेलले कालापत्थरको एभरेस्ट होटलमा विशेष कार्यक्रमको आयोजना गरिने जनाए । कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला, अभि प्याकुरेल, केभिन फोर्डलगायतले विश्व कृतज्ञता दिवसका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै रिपोटर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले व्यस्त मानिस नै धेरै खुसी हुने बताए । उनले भने, “जो मान्छे, सधैं देश र जनताको काममा समर्पित हुन्छ, त्यो मान्छे सधैं खुसी हुन्छ ।”
उनले परिवारप्रतिको जिम्मेवारी वहन गर्ने मानिस नै धेरै खुसी हुने बताए । धमलाले प्याकुरेल अमेरिकामा बसे पनि उनको मन र मस्तिष्क नेपालमै रहने गरेको भन्दै बधाई दिए । उनले कृतज्ञताका बारेमा पनि प्रकाश पारेका थिए । उनले मानिसले आफ्ना मातापितालाई जहिले पनि सम्झिने गरेको सुनाए । यो पनि कृतज्ञताकै निरन्तरता भएको उनको भनाइ थियो ।
धमलाले अन्तर्राष्ट्रिय कृतज्ञता दिवसको अवसरमा सगरमाथाको आधार शिविरमा आयोजना हुन गइरहेको कार्यक्रमको सफलताको पनि कामना गरे ।
सो क्रममा उनले आफू निरन्तर दैनिक १८ घण्टा काममा व्यस्त हुने गरेको सुनाए । उनले आफूले जीवनमा एक दिन पनि आराम नगरेको स्मरण गराए । उनले आफू विवाहको दिनमा पनि काममा व्यस्त भएको र जीवनमा कहिल्यै पनि व्यक्तिगत भ्रमणमा ननिस्किएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्