भेरीको पानी लिफ्ट गरी कुदुमा सिँचाइ

पटक–पटक चुनावी नारा बन्दै आएको भेरी नगरपालिका –१३ कुदुमा लिफ्ट मार्फत सिँचाइ सुविधा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । २ करोड ८० लाख रुपैयाँको लागतमा तीन ठाउँबाट भेरी नदीको पानी तानेर कुदुमा सिँचाइ सुविधा पुर्याएको हो ।
भारी मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा वर्षाको याममा मात्र खेती गरिँदै आएको कुदुमा अब १२ महिना सिँचाइ सुविधा पुग्ने भएपछि कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक सहयोगमा भेरी नदीको पानीलाई लिफ्ट मार्फत तानेर गाउँमा पानी पुर्याएपछि कुदुमा सिँचाइ सुविधा पुगेको कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।
२०७४ सालदेखि सुरु भएको उक्त योजना २०७९ मा आएर सफल भएको छ । ११० हेक्टर भन्दा बढि जमिनलाई सिँचाइ पुग्ने लक्ष्य राखिएको कार्यालय प्रमुख शाहीको बताए । ९० लाखको पहिलो, १ करोडको दोस्रो र ९० लाखको तेस्रो ठाउँबाट लिफ्ट गरी पानी कुदुमा ल्याइएको छ ।
वर्षायाममा आकाशे पानीको भरमा मकै लगाउदै आएका कुदुवासी अब हिउँदे सिजनमा समेत खेतपाती गर्न पाउने भएपछि खुसी भएको स्थानीयवासी जगत बस्नेतले बताए । ११० हेक्टर जमिनमा भेरीको पानीबाट प्रयाप्त सिंचाई पुर्याउन सकिएमा कुदुवासीलाई मात्र नभएर जाजरकोटवासीलाई समेत खाद्यान्न उत्पादन गर्न सकिने विश्वास लिइएको छ ।
यहाँ सिँचाइ सुविधा नहुँदा दैनिक जनप्रतिनिधिहरूको आलोचना भैइरहेको थियो । खानेपानीका लागि समेत कुदुमा काम जारी रहेको छ । जिल्लाको सबै भन्दा ठुलो फाँटको रुपमा कुदुलाई लिइन्छ । छिन्चु जाजरकोट डोल्पा र मध्यपहाडी लोकमार्गको बीचमा रहेको यहाँ मानवीय क्रियाकलाप समेत बढ्न थालेका छन् ।
सहरीकरणको अभ्यास समेत तीव्र रूपमा विकास हुन थालेको छ । छिमेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नयाँ सहर निर्माण कार्य जारी रहदा भेरी नदीको अर्को किनारमा रहेको कुदुमा समेत त्यसको प्रभाव परेको छ । जाजरकोट सदरमुकामबाट १२ किलोमिटर पर्ने कुदु राष्ट्रिय दुइ वटा सडकसँग जोडिएको छ । पानीको दु:ख हुन्छ भन्दै छोरी र वुहारी समेत लिन र ल्याउन समेत धौ धौ पर्ने यहाँका स्थानीयासीलाई अब पानी पाइने ठाउँको परिचय बनाउन सफल भएकोमा खुसी लागेको कुदुका प्रविण बटालाले बताए ।
आफ्नै बिघा जमिन भए पनि खाद्यान्न बाहिरबाट खरिद गरी ल्याएर खानुपर्दा आफूहरूको चित दुख्ने गरेको बताउँदै बटालाले अब अफूले उत्पादन गरेको अन्न बाहिर निर्यात गर्ने सोचमा रहेको बताए । कुदुमा पिउने पानीको लागि समेत करोडौंको लागतमा नयाँ योजना निर्माण कार्य जारी रहेको छ ।