खेतीयोग्य जमिनमा घरैघर «

खेतीयोग्य जमिनमा घरैघर

बढ्दो जनसंख्याका कारण पछिल्लो समय अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिन मासिँदैै गएको छ । धान, जौ, गहुँ र तरकारी फल्ने खेतीयोग्य जमिनमा पछिल्लो सयम तीब्र गतिमा निर्माण हुँदै गएका घरका कारण खेतीयोग्य जमिन मासिँदै गएको कृषि विज्ञहरूले बताएका छन् । यसको प्रत्यक्ष प्रभाव जुम्लामा परेको छ ।
जुम्ला सदरमुकामको पूर्व राजसिमदेखि पश्चिम कारागरासम्मका धान, जौ, गहुँ फल्ने खेतमा विगत दुई वर्षभित्र मात्रै ६० भन्दा बढी घर तथा भवन निर्माण भएका छन् । खेतीयोग्य जमिनमा घर निर्माण हुन थालेपछि चन्दननाथ नगरपालिकाले खेतीयोग्य जमिनमा घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको छ ।
उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको संरक्षणका लागि नगरपालिकाले मापदण्ड बनाए पनि कार्यान्वयन हुन नसक्दा मनपरी मापदण्डविपरित जग्गाको खरिद बिक्री बढेको उपमेयर अप्सरादेवी महतले बताइन् । उनका अनुसार राजसिम ज्यूलो, छिना ज्यूलो, छिना साघु ज्यालोका खेतीयोग्य जमिनको खरिद बिक्री बढेको छ । जसले गर्दा धमाधम घर निर्माण भइरहेको उनको भनाइ छ ।

खरिद बिक्रीले जग्गा मासिँदै
नगरपालिकाले खेतीयोग्य जमिनमा घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको छ । तर नगरभित्रका स्थानीयले मापदण्डको ख्याल नगरी जगाको खरिद बिक्री गरिरहेका छन् । जसका कारण जग्गा खरिद गर्नेहरूले खेतीयोग्य जमिनमै घर निर्माण गरिरहेका छन् । “किसानले आवश्यकता परिपूर्तिका लागि बाहिरका व्यक्तिलाई जगाा बेच्ने किन्ने मापदण्डविपरित घरनिर्माण गरेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ,” उपमेयर महतले भनिन्, “उत्पादनसँग कुनै वास्ता नगरी घर निर्माण हुन थालेपछि आगामी केही वर्षभित्रै जुम्लाका खेतीयोग्य जमिनमा घरले ढाकेको देख्न सकिन्छ ।” तर जग्गााको खरिद बिक्री रोक्न नगरपालिकाले एक टोली खटाउने उनले बताइन् । उपमेयर महतले किसानलाई जगा बिक्री तथा घर भवन निर्माण नगर्न सुझाव दिने र अटेरी गरे सिधै सरकारी सेवा सुविधा कटौती गर्ने चेतावनी पनि दिइन् ।
अहिले एकपछि अर्को गर्दै जुम्लाको सदरमुकाम आसपासदेखि अन्य क्षेत्रमा खेतीयोग्य जमिनमा घर निर्माण गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस सबै स्थानीय तहले मापदण्ड बनाउनुभन्दा कार्यान्वयनमा जोड दिन जिसस जुम्लाका उपप्रमुख कार्मा बुढाले सुझाव दिए ।

उत्पादनमा गिरावट
खेतीयोग्य जमिनको खरिद बिक्रीपछि घरहरू निर्माण हुँदा उत्पादन घटेको छ । “झट्ट हेर्दा नदेखिए पनि विस्तारै उत्पादनमा गिरावट आउने देखिन्छ,” कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ बालकराम देवकोटाले बताए । नगर क्षेत्रमा मात्रै झन्डै २० रोपनी जग्गामा घर निर्माण भएका छन् । यसले वार्षिक कम्तिमा पनि ५० मेट्रिक टन उत्पादनमा ह्रास आउने अनुमान छ । उनले चेतना दिन मापदण्ड बनाउँदा पनि मनपरी रूपमा खरिद बिक्री गर्ने घरजगा बनाउनेविरुद्ध नगरपालिकाले कडा कमद चाल्नुपर्ने बताए । नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जनसंख्या वृद्धिसँगै गाँस, बास र कपासको व्यवस्था आवश्यक भए पनि खेतीयोग्य जमिनभन्दा पाखोबारीमा घर बनाउन उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्