Logo

उद्घाटन भएको पाँच महिनामा पनि सञ्चालन भएर ग्यास प्लान्ट

१९ चैतमा घोराही उपमहानगरपालिका वडा नं १६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन सुरु भनेर तामझामका साथ उद्घाटन गरियो । तर उद्घाटन भएको ५ महिना बितिसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् ।
नागरिकले ग्यास बाल्न पाउन अझै करिव ३ महिना लाग्ने भएको छ । काम सम्पन्न नहुँदै उपमहानगरको दबावमा उद्घाटन गरिएको कारण यस प्रकारको समस्या भएको निर्माण कम्पनीले जनाएको छ । उद्घाटन भएपछि ग्यास पाइने आशामा रहेका नागरिकहरु अहिले प्लान्ट हेरेर बस्न बाध्य भएका छन् । यसले नागरिकलाई झुकाउने काम मात्र भएको स्थानीयको गुनासो छ ।
फोलो मिटर आउन नसक्दा ग्यास वितरण हुन नसकेको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । घर घरसम्म पुर्‍याउनका लागि पाइप आइसकेपनि पाइप विस्तार समेत नगरिएको उनको भनाइ छ । चीनबाट फोलो मिटर ल्याइने उनले बताए । मिटर अर्डर भइसकेको समेत उनको भनाइ छ । प्रिपेड सिममार्फत ग्यास वितरण गर्ने उनले बताए ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता ५ मंसिर २०७५ मा भएको थियो । फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ भने ६० प्रतिशत कम्पनीले व्यहोर्ने सहमति भएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर श्रेष्ठले बताए । यसमा उपमहानगरपालिकाको लगानी शुन्य रहेको छ । नगरपालिकाले जग्गा मात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ । नगरपालिकाले संरचना निर्माणका लागि करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्यास प्लान्ट २ हजार घन मिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ ।
ग्यास उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो, तर पाइपमार्फत घरघर ग्यास पुर्‍याउनु पर्ने भएपछि करिव २२ करोड लाग्ने श्रेष्ठले बताए । यो रकम पाइपमार्फत घरघरमा ग्यास पुर्‍याउँदा खर्च हुने छ ।
परीक्षणको रुपमा केही समय अघिदेखि फोहोरबाट ग्यास उत्पादन सुरु गरिएको श्रेष्ठले बताउँछन् । अहिले दैनिक २ सय ३० देखि २ सय ७० सय घन मिटर सम्म ग्यास उत्पादन हुने गरेको उनले बताए । फोहोरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्