३ वर्षमा ३ हजार ९ सय ७५ जनाले गरे आत्महत्या «

३ वर्षमा ३ हजार ९ सय ७५ जनाले गरे आत्महत्या

लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाहरूमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ‘आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भूमिका’ विषयमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक वीरबहादुर वलीले बितेको ३ आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार मानिसले आत्महत्या गरेको जानकारी दिए छ ।
उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २ सय ३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३ सय ४१ जना गरि कुल ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा लुम्बिनी प्रदेशका १२ जिल्लाहरू मध्य सवै भन्दा धेरै रुपन्देही जिल्ला र कम पूर्वी रुकुममा छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा मात्रै २ सय ६७ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी दाङमा २ सय १४ जना, कपिलवस्तुमा १ सय ६६ जना, बर्दियामा १ सय ६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रमुख वलीका अनुसार दाङमा आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २ सय २४, आर्थिक वर्ष २०७७/०७८ मा २ सय ३८ जना, आर्थिक वर्ष २०७८/०७९ मा २ सय १४ जना तथा चालू आर्थिक वर्ष २०७९/०८० को हाल सम्म ३६ जना गरि जम्मा ७ सय १२ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर सबैभन्दा धेरै ५ सय १९ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी विष सेवन गरी १ सय ४७ जना, हाम फालेर ९ जना र आगो लगाएर एक जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका १० पालिकाहरू मध्ये सबैभन्दा धेरै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका र कम राजपुर गाउँपालिकामा हुने गरेका छन् । मानसिक तनाव, प्रेममा धोका, पारिवारीक कलह, गरिबी, शारीरिक यातनासँगै आवेशमा अधिकांशले आत्महत्या गर्ने गरेका प्रहरी प्रमुख वलीले बताउँछन् । ‘आत्महत्याका विभिन्न कारणहरू देखिन्छन्’, प्रहरी प्रमुख वलीले भने,‘जस मध्य अधिकांशले आवेशमा आएर आत्महत्या गरेको देखिन्छन । त्यसका साथै पारिवारिक कलह, मानसिक तनाव, दीर्घरोगी तथा आर्थिक लेनदेनका कारण पनि देखिन्छ ।’ साथै देखासिकीले महत्वकांक्षा बढेको, व्यवसायीहरू आर्थिक संकटमा फसेका, बैंकको बढ्दो व्याजदरले व्यवसायबाट पलायन भएर आत्महत्यासम्म पुग्ने गरेको पनि केही घट्ना देखिने गरेको उनले बताए ।
आत्महत्याको बढ्दो संख्यालाई ध्यानमा राखेर गहन रुपमा अध्ययन अनुसन्धान अघि बढाईएको उनको भनाइ रहेको छ । प्रहरी अध्ययनका अनुसार १३ प्रतिशतभन्दा माथि पुरुष, ७ प्रतिशत भन्दामाथि महिला धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्