Logo

कृषि र भेटेरीनरीको स्वीकृत कार्यक्रम गाउँ केन्द्रित गर्न निर्देशन

कृषि र भेटेरिनरीका चालु आवका कार्यक्रमहरू बजार केन्द्रित भन्दा गाउँ केन्द्रित कृषकलाई गराउन सरोकारवालाहरूले निर्देशन गरेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शीर्षकमा ४ करोड उन्नाइस लाख ४६ हजार रुपैयाँबराबरको कार्यक्रमहरू छन् । विनियोजित रकममध्ये ४ करोड ४ लाख ८६ हजार रुपैयाँ पुँजीगत खर्च छ भने चालु गततर्फ १४ लाख ६० हजार रुपैयाँ करोड २१ लाख ४४ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।
चालु आर्थिक वर्षका लागि कृषि प्रवद्र्धन, भौतिक संरचना निर्माण, विशेष बाली प्रवद्र्धन, कृषि प्रयोगशाला, साना सिँचाइ कार्यक्रम, रैथाने बालि संरक्षण कार्यक्रम, तालिम तथा परामर्श लगायतका कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।
त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शीर्षकमा ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ बराबरका कार्यक्रम रहेको जनाएको छ । विनियोजित रकममध्ये एक करोड २२ लाख ९० रुपैयाँ पुँजीगत खर्च छ भने ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।
चालु आर्थिक वर्षका लागि पशु पूर्ण खोप कार्यक्रम, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु प्रजनन तथा नश्ल सुधार, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षमता अभिवृद्धिलगायतका कार्यक्रम रहेको केन्द्र प्रमुख जीवनप्रसाद आचार्यले बताए ।
कार्यक्रममा कृषकले वास्तविक कृषकको पक्ष कार्यक्रम सञ्चालन ल्याउन, भकारो सुधारलाई प्राथमिकता दिन, बास्तविक कृषकको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्न, कृषकको फर्म, खेतबारी पुगेर कृषि र कृषकका समस्या बुझ्न आग्रह गरेका थिए । सहभागीबाट प्राप्त सुझाव प्राथमिकताका साथ कार्यान्वयन गर्न पहल गर्ने कार्यालय प्रमुखहरूले प्रतिबद्धता जनाएका थिए ।
सार्वजनिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघ र प्रदेशको नीतिनियमले साना किसानहरूलाई समेट्न नसकेको बताए । जनप्रतिनिधि, कर्मचारी र कृषकहरू मिलेर कृषि र भेटेरिनरीका वार्षिक कार्यक्रम प्रभावकारी रुपमा गाउँ केन्द्रित गरेर कार्यान्वयन गर्न आग्रह गरे ।
मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले राज्यका नीति नियम तथा कार्यक्रम कृषकको पक्षमा नभएको बताउदै भुगोल र कृषकको चाहना अनुसार जिल्लास्थित पालिका मिलेर कृषि र पशुपालन क्षेत्रका नीति नियम बनाउनुपर्ने धारणा राखे । ‘कृषि उपजलाई कोल्डस्टोरमा राख्ने भनिएपनि विद्युतको समस्या रहेको छ’, गर्वुजाले भने । ‘जनप्रतिनिधि र कर्मचारी सुध्रिए कृषकको चाहना अनुसार नीति नियम र कार्यक्रम बनाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्