मनपाङ खोलाको पानी सल्यानटार ल्याइने «

मनपाङ खोलाको पानी सल्यानटार ल्याइने

मनपाङ खोलाको पानी सल्यानटारमा ल्याइने भएको छ ।
प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले एक समारोहबीच सल्यानटारमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, पूर्वअध्यक्ष शम्भुकुमार थापा र वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । खानेपानीको चरम अभाव रहेको सल्यानटारमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा काम गर्ने मानव अधिकारवादी संस्था फियान नेपालले पटकपटक स्थलगत अनुगमन गरे पश्चात ६ पुस २०७२ सालमा स्थानीयलाई खाद्य अधिकारको बारेमा जानकारी गराएपछि चन्द्रप्रसाद कँडेलको संयोजकत्व सल्यानटार खाद्य अधिकार समूह गठन गरिएको थियो । कँडेलको नेतृत्वमा खाद्य अधिकार समूहले खानेपानी खान पाउनु आफूहरूको हकअधिकार रहेको दाबी गर्र्दै विभिन्न जिल्ला विकास समिति, खानेपानी मन्त्रालय र नेतृत्व तहमा जनवकालत गर्दै जाने क्रममा सहलगानी कोषसंँग सम्बन्ध गाँसिएपछि सल्यानटारमा खानेपानी आउने निश्चित भएको हो ।
सल्यानटार खाद्य अधिकार समूहका वर्तमान संयोजक नमराज अधिकारी आफूहरूले गरेको संर्घषले सफलता पाउँदा निकै खुसी व्यक्त गरेका छन् । खाद्य अधिकार समूहका सदस्य एवं मनपाङ खोला सल्यानटार खानेपानी तथा सरफाइ उपभोक्ता समितिका सचिव राधिका भण्डारीले हामी खानेपानीको हकअधिकार दाबी गर्दै सरकारी संस्था वा निकायमा जाँदा त्यहाँ मानिसहरू हाँस्नु हुन्थ्यो । पत्याउनु भएन । फियान नेपालले हामीलाई आवश्यक सहयोग मात्र गरेन हामीलाई बाटो पनि कोरिदियो । त्यही बाटो हिँड्यौं । अहिले सबै सल्यानटारवासीमा खुसी ल्याएका छौं जस्तो लाग्छ ।
सल्यानटार खाद्य अधिकार समूहका सदस्य एवंं मनपाङ खोला सल्यानटार खानेपानी तथा सरफाइ उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मण उप्रेती विगतलाई यसरी सम्झिन्छन्, “हामी समूहको बैठक बस्दा वा तालिममा सहभागी हुँदा होस् वा खानेपानीको सवालमा डेलिगेसन जाँदा हामीले नेता मानेकाहरू नै हामीलाई खिस्याउनु हुन्थ्यो । फियान नेपालले पानी ल्याइदिने सल्यानटारमा, कर्मचारी जागिर पचाउन आएको हो । तिमीहरूको होटलको खाजा खर्च मात्र हो भन्नुहुन्थ्यो । अहिले उहाँहरू पनि छक्क पर्नु भएको छ । समूह र समितिमा रहनेहरू त खुसी नै छांै ।”
मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गत सञ्चालित हुने सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको ३० करोड ४० लाख ४६ हजार ८ सय १ रुपैयाँ रहेकोमा २३ करोड ८५ लाख ४९ हजार ३ सय ८७ रुपैयाँ सगुन कन्स्ट्रक्सन रुपन्देहीले सम्झौता गरेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनसँंग १२ जेठ २०८१ मा काम सम्पन्न गर्ने गरी १२ जेठ २०७९ मा सम्झौता गरेको छ । कम्पनीले मुहानमा इन्टेक एक वटा, मनपाङ खोलानजिक संकलन ट्यांकी एक वटा निर्माण गर्नुपर्ने छ । मुख्य पाइपलाइन १५ हजार ८ सय ४ किमि, शाखा पाइपलाइन ५३ हजार ६० किमि रहने छ । सल्यानटार सिक्टारमा पानी प्रशोधन केन्द्र एकवटा, पानी वितरण ट्यांकी चार सय घनमिटरको दुईवटा, समितिको कार्यालय भवन, चौकीदार भवन एकवटा र निजीधारा २ हजार ८ सय ९७ वटा निर्माण गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्