Logo

फर्किए चिनियाँ पाहुना

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु बिहीबार स्वदेश फर्किएका छन् ।
बुधबारमात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । बुधबार बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुन:निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।
भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।
मंगलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।
सोही दिन नै अध्यक्ष ली र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।
अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्