स्थानीय भन्छन् : कि सञ्चालन गर, कि जग्गा फिर्ता देऊ
फिदिम बसपार्क अझै सञ्चालनमा आएन

जग्गा प्राप्तिको दुई दशकपछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन । तर, अझै पनि बसपार्क सञ्चालनमा आउन सकेको छैन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब दुई करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम बसपार्क निर्माण हुन नै दुई दशक लाग्यो । विभिन्न बहानामा निर्माण हुन नसकेको बसपार्क पाँच वर्षअघि निर्माण सम्पन्न भयो । तर, बसपार्क सञ्चालन भने हुनसकेको छैन । बजारबाट करिब दुई किलोमिटरको दूरीमा रहेको स्थायी बसपार्कमा गाडी पुग्दैनन् ।
फिदिम नगरपालिका–२ मा निर्माण भएको बसपार्क सञ्चालन नहुँदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् । भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारी मुख्य सडकमै पार्किङ हुने गरेका छन् ।
बसपार्क सञ्चालन नहुँदा फिदिम बजारको मुख्य सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख दिपक दुलाल बताउँछन् ।
फिदिम बजारमा यातायात व्यवसायीहरू मुख्य सडक, ग्यारेज र आफन्तको घरमा सवारी राख्छन् । धेरैजसोले सडक छेउमै पार्किङ गर्ने गरेर राख्ने गरेका छन् । यथेष्ट ठाउँसहितको बसपार्क हुँदाहुँदै राजमार्ग दायाँबायाँ जथाभावी पार्किङ गर्न थालेपछि फिदिम बजार अस्तव्यस्त हुँदै गएको छ ।
फिदिम नगरपालिका–२ पल्लोटारमा स्थानीयबासी सुबिधा सम्पन्न बसर्पाक सञ्चालन नहुँदा निरास छन् । स्थानीयले बसपार्क प्रयोजनका लागि करिब साढे सात रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका थिए । नि:शुल्क जग्गा दिएर बसपार्क सञ्चालन हुने आशमा बसेका स्थानीय अहिले निरास हुन थालेका छन् । पटकपटक बसपार्क सञ्चालन हुने आश्वासन पाएका स्थानीय निराश भएका हुन् । साढे सात रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट बस सञ्चालन गर्न पटकपटक पहल भए पनि बसपार्क सञ्चालन नहँुदा निर्माण भएका भौतिक पूर्वाधार प्रयोगविहीन भएका छन् ।
“पटकपटक स्थानीय सरकारसँंग बसपार्क सञ्चालनका लागि डेलिकेसन गइयो । पटक पटक कुरा राखियो तर पनि अझै बसपार्क सञ्चालन हुन सकेन । कि स्थानीय सरकारले यो बसपार्क सञ्चालन गरिदिनु पर्यो, बसपार्क सञ्चालन गर्दैन भने हाम्रो जग्गा फिर्ता गरी यो संरचाना हटाई दिनु पर्यो,” स्थानीय टंकप्रसाद अधिकारीले भने ।
अधिकारीमात्र होइन अर्का स्थानीय रामचन्द्र लुइँटेल पनि स्थानीय सरकारकाबाट सन्तुष्ट हुन नसकेको बताउँछन् । फिदिम बजारका केही सीमित व्यवसायीको स्वार्थका कारण बसपार्क सञ्चालन हुन सकेन । जनप्रतिनिधिले फिदिम बजार क्षेत्रलाई मात्र फिदिम सम्झेकाले बसपार्क सञ्चालन हुन नसकेको स्थानीय बताउँछन् ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले दसैं पछाडि बसपार्क सञ्चालनमा आउने बताए । उनले आफू मेयरमा निर्वाचित भइसकेपछि बसपार्क सञ्चालनका विषयमा गम्भीर रहेको बताउँदै पहिलो काम नै उक्त बसपार्क कसरी छिटोभन्दा छिटो सञ्चालन गर्न सकिन्छ भनेर लागिपरेको बताए । फिदिम बजारभित्रका व्यवसायीलाई पनि असर नगर्ने र लगानी भइसकेको बसपार्क पनि सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको मेयर काफ्ले जानकारी दिए ।
कहिले यातायात व्यवसायीको कारण त कहिले कुन बहानामा बसपार्क सञ्चालन गर्न स्थानीय सरकार गम्भीर नभएपछि टिकट काउन्टरसहित बसपार्कमा आधारभूत संरचना प्रयोगमा नआई जीर्ण बन्ने सम्भावना छ । सुरक्षाका लागि अस्थायी प्रहरी बिट नै स्थापना गरिए पनि यातायात व्यवसायी र स्थानीय सरकार बसपार्क सञ्चालनमा गम्भीर नबन्दा करोडभन्दा माथिको लगानी खेर गइरहेको छ । बसपार्कमा खानेपानी, बिजुली, टेलिफोनसहितका पूर्वाधार छन् । बसपार्क जाने/आउने सडक चौडा छ । तर पनि व्यवसायीले बसपार्कमा गाडी लैजाँदैन्न । गाडी बसपार्कमा पार्किङ नहुँदा बजारको सौन्दर्य नै हराएको छ ।
२०७१ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नयाँ वर्षको अवसर पारेर बसपार्कको उद्घाटन गरेका थिए । २०७१ सालमा उद्घाटन भएको बसपार्क पुन: २०७५ साल असोजमा तत्कालीन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले उद्घाटन गरे पनि अझै सञ्चालनमा आउन सकेको छैन ।