सामाजिक उत्तरदायित्व कोषको रकमले खानेपानी

खिया लागेको टिनले छाएको घर, घरको बलेनीमा यत्रतत्र छरिएका पानी भरिएको गाग्री । आँगनमा झारैझार र काँक्राको झाल अनि घरमा ८० वर्षीय वृद्ध एकल महिला । सबैलाई लाग्छ बलेनीको पानी समस्या परे घरका पशुचौपायालाई खुवाउन र कपडा धुनका लागि प्रयोग गरिन्छ, तर स्याङ्जाको अर्जुनचौपारी–५ काउरेकी पूर्णकला पौडेलले विगत सात वर्षदेखि बलेनीको पानी खान र खाना बनाउन उपयोग गर्दै आएकी छन् ।
तीन छोरीको विवाह र श्रीमानको निधन भएपछि विगत १२ वर्षबाट एक्लै घरमा बस्दै आएकी वृद्ध पौडेलले असक्त भएपछि सात वर्षदेखि बलेनीको पानी खाएर निर्वाह गर्दै आएको सुनाइन् । गाउँमा धेरैको घरमा पानीको धारा जडान हुँदा वृद्ध पौडेलको घरमा पानीको धारा थिएन । वृद्ध एकल महिला पौडेलले छिमेकीको घरमा पुगेर पानी ल्याउन नसकेपछि बलेनीको पानी खाने गरेकी थिइन् ।
वृद्धा एकल महिलाले वर्षात्मा बलेनी र हिउँदमा छिमेकीको भरमा पानी खाएको सुनेपछि अर्जुनचौपारी गाउँपालिकाले चासो लिएर सहयोग गरेको छ । जनप्रतिनिधिले सुविधावापत प्राप्त गरको रकमबाट १० प्रतिशत छट्ट्याएर स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट पौडेललाई पालिकाले १६ एमएमको प्लास्टिक पाइपबाट खानेपानीको धारा जडान गरिदिएको छ ।
सामाजिक उत्तरदायित्व कोषबाटै उनलाई पालिकाले चिनी, दाल, साबुन, नुनलगायत दैनिक उपभोग्य वस्तुको जोहो गरिदिएको छ । पालिका अध्यक्ष प्रकाश तिवारी र उपाध्यक्ष सपना गुरुङले वृद्धा एकल महिलाको घरमा पुगेर खानेपानीको धारा जडान गरिदिएका हुन् ।
एक्लो घरमा बस्दै आएकी वृद्धा पौडेलले खानेपानीका लागि धेरै दु:ख भोगेको सुनाउँदै वर्षात्मा बलेनीको पानी र हिउँदमा गाउँलेको सहयोगमा खानेपानी पिउँदै आएका बताइन् । पानीको धारा घरबाट नजिकै भए पनि असक्तताले पानी खान कि त छिमेकी कि त आकासको पानी कुर्नुपरेको बताउँदै पौडेलले घरको आँगनमा पानीको धारा झरेसँगै हर्षका आँशु झरालिन् ।
दुई छोराको जन्मेपछि मृत्यु भएको बताउँदै वृद्धा पौडेलले पालिका छोरा भएर आएकोमा खुसी व्यक्त गरिन् । छोरीले पटकपटक आफ्नै घरमा गएर बस्न आग्रह गर्दा पनि आफ्नै घरमा मर्ने बाचासहित घरमै बस्दै आएकी वृद्धा पौडेलजस्तै गाउँपालिकाका वृद्धवृद्धा तथा असहायलाई आवश्यकता अनुसारको सहयोग गर्ने पालिका अध्यक्ष प्रकाश तिवारीले प्रतिबद्धता जनाए ।
जनप्रतिनिधिले बुझ्ने रकमबाट १० प्रतिशत कट्टा गरी वृद्धवृद्धा तथा पूर्ण अपांगलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व कोष बनाएको बताउँदै तिवारीले सहाराविहीनको सहारा बन्न पालिकाले बजेटको व्यवस्थापन गर्दै जाने बताए ।
पालिकाभित्र सहाराको खोजीमा रहेका अशक्त, वृद्धवृद्धा र पूर्ण अपांगलाई पालिकाले सहयोगको ढोका सधै खुल्ला रहने गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङले बताइन् । जनप्रतिनिधिले आफ्नो पारिश्रमबाट कटाएर बनाएको सामाजिक उत्तरदायित्व कोषबाट नागरिकलाई सहयोग गरेको जिल्लाकै नमुना उदाहरण भएको उनको दाबी छ ।