Logo

पेट्रोलियम ढुवानी व्यवसायीले आन्तरिक ढुवानी पनि रोक्ने

आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएको छ । सरकारसँग भएको सहमतिअनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै पेट्रोलियम ढुवानी व्यावसायीहरुले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन् ।
भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन सुरु गरेका थिए । आफूहरुले राखेको माग सम्बोधन नगरिएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रमहरु थप गरेका छन् ।
थप कार्यक्रमअनुसार उनीहरुले बिहीबारदेखि अमलेखगञ्ज डिपोबाट समेत आन्तरिक लोडिङ बन्द गर्ने भएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने ट्याङ्कर ढुवानी व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासले बताए ।
उनले भने, “सरकारले यसअघि सरोकारवाला विज्ञहरु, ढुवानी व्यवसायी महासंघका प्रतिनितिधहरु सहितको छलफलमा तय गरिएको वैज्ञानिक भाडादर अझै पनि लागू गरेको छैन । सरकारले भाडादर लागू नगर्दा पेट्रोलियम ढुवानी व्यावसायीहरुले घाटा व्यहोर्नु परिरहेको छ । त्यसैले हामी आन्दोलनमा जान बाध्य भएका छौं ।”
उनका अनुसार सरकारले अहिले नयाँ रुटबाट ढुवानी गर्ने भाडा पनि भुक्तान गर्न बाँकी रहेको छ । भुक्तानी बक्यौता चाँडै गर्न आन्दोलनरत व्यावसायीहरुको माग छ । सरकारले आन्दोलनरत व्यवसायीहरुको मागलाई सम्बोधन नगरे असोज १ गतेदेखि देशभरका डिपोबाट लोड–अनलोड ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्