पेट्रोलियम ढुबानीमा ५ अर्ब बचत «

पेट्रोलियम ढुबानीमा ५ अर्ब बचत

तीन वर्षअघि बाराको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाल आयल निगमको ढुबानी बापत ५ अर्ब रुपैयाँ बचत भएको छ ।
अमलेखगन्जस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन सञ्चालन भएको ३ वर्षमा आयल निगमले ढुबानीबापत ५ अर्ब रुपैयाँ बचत गर्न सफल बनेको जानकारी गराएको हो ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाअन्तर्गत मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेदेखि संचालनमा आएको थियो ।
कार्यालयका प्रमुख प्रदीप यादवले पाइपलाइनबाट इन्धनबाट आउँदा सुरक्षित, चुहावट, चोरी, रोकिएको र इन्धन ढुवानीमा निगमले व्यहोरिरहेको घाटामा कमी आउँन पाइपलाइन सफल बनेको बताए ।
पाइपलाइनबाट डिजलमात्रै पछिल्लो ३ वर्षमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजल आयात भएको निगमले जनाएको छ । दुई वर्षभित्र पाइपलाइनबाट डिजलसंगै पेट्रोल र मट्टितेल ल्याउने तयारी गरिरहेको निगमले पाइपलाइनबाट वार्षिक २५ लाख किलोलिटर इन्धन आयात गर्ने क्षमता रहेको जानाएको छ । हल ६९.२ किलोमिटरको पाइपलाइनबाट डिजलमात्रै आयात गरिरहेको निगमले पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म लैजाने प्रक्रिया थालेको छ ।
२०३३ सालमा निर्माण भएको यो डिपो अहिले ६७ हजार ७ सय २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस डिपोमा १९ हजार ८ सय ४० किलोलिटर डिजेल, ३ हजार ४ सय ३० किलोलिटर पेट्रोल, ७ सय ६० किलोलिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ ।
देशको २६ जिल्लामा आपूर्ति व्यवस्थापन गर्दै आएको डिपोसँग अहिले ४ सय २४ डिलर, २ सय ६४ ढुवानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्