Logo

दसैं अगावै ग्रामीण सडक सञ्चालन गरिने

पर्वतको फलेवास नगरपालिकाभित्रका ग्रामीण सडक दसैंअगावै सञ्चालनमा आउने भएका छन् ।
मंगलबार नगरपालिकामा आयोजित वडा सचिव तथा प्राविधिक सहायक कर्मचारीका लागि फलेवास नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको एक दिने अन्तरकृया तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले दसैंमा टीका लगाउने गाउँ आउने जोसुकै नगरबासीले गाडीको सुविधाबिना कोही पनि नगरबासी घरसम्म पुग्नबाट वञ्चित हुन नपरोस् भनेर सोमबार नै ११ वटै वडामा आवश्यकता पहिचान गरी सडक मर्मतका लागि माग गर्न आह्वान गरे ।
सबै वडा सचिवलाई निर्देशन दिँदै नगरप्रमुख तिवारीले भने, “तपाईंहरू भनेको स्थायी सरकार हो । स्थायी सरकारलाई कहाँ समस्या छ, कहाँको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने राम्रोसँग जानकारी हुन्छ । त्यसैले आवश्यकताका आधारमा गुनासो टिपेर पालिकामा खबर गर्नुस् ।” नगरप्रमुख तिवारीले आफूले निर्वाचनका बेला गरेका बाचा संघ, प्रदेश र नगरपालिकामध्ये जुनसुकै माध्यमबाट भए पनि आगामी चार वर्षभित्र पूरा गरेरै छोड्ने र त्यसका लागि कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताए । उनले नगरपालिकामा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा भएकाले स्थायी सरकारले जनप्रतिनिधि कुन दलको वा आस्थाको आयो भन्दा पनि समग्र नगरबासीको हितका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
उपप्रमुख शोभा कुमारी क्षेत्रीले गाउँगाउँमा सिंहदरबार भन्ने मन्त्रको मर्म बुझेर काम गरेपछि कुनै पनि नागरिकले दु:ख नपाउने उल्लेख गर्दै त्यस मन्त्रलाई शिरोधार्य गर्दै काम गर्न वडा सचिवहरूलाई आग्रह गरिन् । उनले फलेवास गाउँ नै गाउँको नगरपालिका भएकाले सानोसानो रकम संकलन गरेर करको दर नभई दायरा बढाउनुपर्ने र त्यसका लागि हरेक वडा सचिव जिम्मेवार हुनुपर्ने बताइन् । क्षेत्रीले नगरपालिकाभित्र ससानो व्यवसाय गर्ने व्यवसायीलाई पालिकाले स्थानीयस्तरमै दर्ता तथा नवीकरणको व्यवस्था मिलाउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले कर्मचारीहरू आफू कार्यरत कार्यालयप्रति जिम्मेवार र बफादार बन्नुपर्ने बताए । “हामी कुनै आस्था वा विचारको भन्दा पहिला राष्ट्रसेवक कर्मचारी हो,” उनले भने, “त्यसैले हामी आफू कार्यरत संस्था र सरकारप्रति वफादार बन्नैपर्छ ।” कतिपय कर्मचारीले नगरपालिकाको आधिकारिक सामाजिक सञ्जालको बेवास्ता गर्दै आफूखुसी राजनीतिक आस्था वा विचारका उत्तेजक अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेकाले त्यस्ता गतिविधि रोक्न निर्देशन दिए ।
राजस्व शाखाले फलेवासको राजस्व संकलनलाई पूर्ण डिजिटल बनाउनका लागि वडा सचिवहरूलाई तालिम दिन लागिएको जानकारी दिए । अनलाइनबाट राजस्व संकलनका लागि हरेक वडामा आवश्यक पूर्वाधार निर्माण भइसकेकाले अब हरेक विषयको राजस्व संकलन अनलाइनबाटै हुनेमा विश्वस्त रहेको बताए । कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारी सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्