Logo

कालिगण्डकीका ३४ सय घरमा पानी

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका तीन हजार चार सय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाका सातवटै वडाका बासिन्दालाई लक्षित गर्दै धारा जडान गरी खानेपानी वितरण गरिएको हो । गाउँपालिकाको ५ नं. वडाको प्रत्येक घरमा ‘एक घर, एक धारा’ समेत जडान गरिएको छ ।
विगत पाँच वर्षदेखिको निरन्तर प्रयासबाट गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी वितरण गरिएको छ । ‘एक घर, एक धारा’ कार्यक्रमबाट २१ हजार जनसंख्या रहेको कालिगण्कडीका झण्डै १५ हजार स्थानीय बासिन्दाले स्वच्छ खानेपानी सुविधा उपभोग गर्न पाएका छन् ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका गाउँपालिकाका स्थानीयलाई संघीय, प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिएको वडा नं ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताए । स्वच्छ खानेपानीको सुविधा पाएपछि स्थानीयमा खुसीको लहर नै आएको अध्यक्ष पाण्डेले बताए ।
गाउँपालिकाको अगुवाइमा गण्डकी प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव झेल्दै आएका घरमा ‘एक घर, एक धारा’ जडान गरेको गाउँपालिकाले जनाएको छ । खानेपानी अपुग भएका केही घरमा तत्काल धारा जडान गर्ने लक्ष्यसमेत राखिएको छ ।
गाउँपालिकामा हालसम्म साना तथा ठूला गरी ३० वटा खानेपानीका योजना सञ्चालनमा रहेका छन् । उक्त योजनाबाट अधिकांश घरधुरीमा ‘एक घर, एक धारा’ मार्फत पानीको पहुँच विस्तार गरिएको हो । आयोजनामध्ये १२ वटा लिफ्टिङ योजना र १८ वटा ग्राभिटी योजना रहेको छ ।
स्थानीय पालिकाको प्रमुख समस्याका रूपमा खानेपानी रहँदै आएको थियो । जनप्रतिनिधिको साझा पहलमा खानेपानी योजना अगाडि बढाएसँगै ३४ सय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम संयोजक भागिरथ अधिकारीले बताए ।
गाउँपालिकाले खानेपानीका क्षेत्रमा १५ करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको छ । पालिकाका घरघरमा धारा जडान भएर पानी आएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीयको दैनिकीमा समेत सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्