साफ महिला च्याम्पियनसिप आजदेखि

साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबारदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ । दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो । बंगलादेशबाट सुरु भएको उक्त च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म पनि नेपालले उपाधि जित्न सकेको छैन । पाँच पटकको सहभागितामा नेपाल चार पटकसम्म उपविजेतामै सीमित भएको छ । एकपटक सेमिफाइनमै सीमित बनेको थियो ।
च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हँुदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हँुदै दोस्रो बनेको थियो ।