Logo

संसद्को कार्यकाल लम्ब्याउनेबारे संसद्मा नै छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् ।
संसद्को कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उहाँले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरू परेको उल्लेख गर्दै संसद्को कार्यकाल संसद्को सम्पत्ति भएकाले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बताए ।
उनले भने, ‘संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको छ । त्यसमा संसदीय प्रक्रियाअनुसार संशोधनहरू परेका छन् । त्यो संसदकै सम्पत्ति हो । संसद्मा नै छलफल गरेर निर्णयमा पुग्छौँ ।’
मन्त्री कार्कीले आज बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटबारे छलफल गरेको बताए । उनले मंगलबार पुन: बैठक बस्ने र शीर्षस्थ नेताहरूले दिएको जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको बताए ।
उनले भने, ‘शीर्षस्थबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले आज सरसर्ती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारेमा छलफल गरेका छौँ । भोलि फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौं । हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौं । १६५ सिटमा नै आज मुलरुपमा गृहकार्य भयो ।’
सञ्चारमन्त्री कार्कीले आजको बैठकमा मुख्यत: प्रतिनिधिसभाको सिटको बारेमा मात्रै छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्