स्याउ बिक्रीबाट जुम्लामा ५० करोड भित्रिने अनुमान

जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आँकलन छ ।
उत्पादन बढेसँगै स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड बढी आर्थिक आम्दानी हुने कृषि कार्यालयको अनुमान छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।
१८ हजार मेट्रिकटन स्याउ उत्पादन हुँदा सरदर प्रतिकेजी ४५ देखि ५५ रुपैयाँमा बिक्री गर्दा अनुमानित ५० करोड रुपैयाँ जुम्लामा भित्रिने आँकलन छ । यस वर्ष ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको हो । गत वर्ष १० क्वीन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका ५ का देवीकृष्ण धितालले यसवर्ष भने १८ क्वीन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानु नपर्ने धिताल बताउँछन् ।
आयातित भन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ । तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या देखिन्छ । स्थानीय रामकृष्ण बुढ्थापा भन्छन्, “ग्रेडिङ, लेवलिङ र प्याकेजिङ जस्ता कुरामा सरकारी तबरबाट ध्यान पुर्याउन जरुरी छ । जुम्ली स्याउ स्वादिष्ट हुँदा पनि मूल्य पाउन सकेको छैन । कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्छ ।”
जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले भने, “स्याउ निर्यातबाट मात्रै करिब ५० करोड आर्थिक भित्रिने आँकलन छ । जुम्लाका आठ पालिका मध्ये सबैभन्दा बढी ४ हजार मेट्किटन गुठिचौरमा फलेको छ । समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा स्याउ उत्पादन बढेको हो ।”
स्याउको बजार प्रर्वद्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको छ ।
जुम्ली पहिचानसँगै आर्थिक समृद्धिसँग जोडिएको स्याउको उत्पादन वृद्धि, सहज बजारीकरण तथा किसानले आफैं मूल्य निर्धारण गर्न पाउने ठोस नीति निर्माणमा हुनु पर्नेमा किसानको जोड छ । तर सुविधायुक्त शित भण्डार नहुँदा जुम्ली स्याउको भण्डार र बजारीकरणमा समस्या आएको छ ।
स्याउ निर्यातको तथ्यांक राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई जिम्मा दिइएको छ । स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्यांक आउन भने केही समय लाग्ने सरकारी अधिकारीहरु बताउँछन् । जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी ४० र ए ग्रेडको स्याउ प्रतिकेजी ६० मा बिक्री भइरहेको छ ।