सहुलियत कर्जामध्ये ९९ प्रतिशत व्यावसायिक कृषि तथा पशुपन्छीमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सहुलियत ब्याजदरको कर्जामा कुल २५ अर्ब ३१ करोड ९५ लाख रूपैयाँ प्रवाह भएको छ ।
सरकारले आन्तरिक उत्पादनमा सहयोग पुग्ने तथा रोजगारी सिर्जना गर्न सुरु गरेको सहुलियत ब्याजदरको कर्जा कृषि तथा पशुपन्छी व्यवसायमा मात्र केन्द्रित भएको छ । सरकारले विभिन्न ७ शीर्षकमा सो कर्जा दिने भए पनि सहुलियत ब्याजदरको कुल कर्जामा ९९ प्रतिशतभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छीमा प्रवाह भएको हो ।
सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सहुलियत ब्याजदरको कर्जामा कुल २५ अर्ब ३१ करोड ९५ लाख रूपैयाँ प्रवाह भएको छ । यो मध्ये २५ अर्ब १८ करोड रूपैयाँ कृषि तथा पशुपन्छीमा मात्र प्रवाह भएको छ । यसका लािग कुल १४ हजार ६ सय ३९ ऋणीले कर्जा लिइ व्यवसाय गरेका छन् ।
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५ लागू गरी बैंक वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिन सकिने व्यस्था गरेको छ । बैंकहरूले यस्तो कर्जा प्रवाह गर्दा ऋणीबाट आधारदरमा २ प्रतिशत थपेर लिन पाउँछन् । तर, कर्जाको प्रक्रियागत अन्य शूल्क भने लिन नपाउने व्यवस्था कार्यविधिले गरेको छ । बैंकहरूले सहुलियत कर्जा प्रवाह गर्दा व्यासायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रूपैयाँसम्म दिन सक्ने व्यवस्था गरेको छ । सरकारले विना धितोकर्जाका ऋणीलाई ५ प्रतिशत ब्याज अनुदान दिनेछ । तर, सरकारले महिला उद्यमशीलता कर्जामा भने ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।
सो कार्यविधिअनुसार कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदान प्राप्त गर्न कर्जा उपयोगको आधारमा ऋणीले नियमअनुसार भुक्तानी गर्नुपर्ने कर्जा रकम भुक्तानी गरेको प्रमाणसहित त्रैमासिकरूपमा नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ । केन्द्रीय बैंकले अर्थ मन्त्रालयले तोके अनुसार भुक्तानी दिनेछ ।
२०७५ चैत मसान्तसम्ममा नेपाल सरकारबाट ब्याज अनुदानमा प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा १४ हजार ६ सय ३९ जनाले सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । यसअन्तर्गत प्रवाह भएको कर्जामध्ये २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी २८४ जना ऋणीलाई प्रदान भएको सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकमा १३ करोड ६४ लाख लगानीमा रहिरहेको छ ।
त्यसैगरी प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा लगानी प्रवद्र्धन गर्न तथा निर्यात विस्तारमा समेत सहयोग पु-याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ चैत मसान्तमा २३ अर्ब ६ करोड पुनरकर्जा लगानीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिको तेस्रो–त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशतमा साधारण पुनर्कर्जा दिने व्यवस्था रहेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ऋणीबाट ८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको केन्द्रीय बैंकले जनाएको छ ।
निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले १ प्रतिशत ब्याजमा यस बैंकले दिँदै आएको निर्यात पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले ऋणीसँग ३ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । सो अवधिमा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७५ चैत मसान्तमा २ अर्ब ५८ करोड रहेको छ । यस्तो कर्जा १५७७ जना ऋणीले उपयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।