Logo

मेघौली विमानस्थल चाँडै सञ्चालनमा ल्याउने दाहालको प्रतिवद्धता

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भरतपुर र मेघौली विमानस्थलको स्तरोन्नती कार्य छिटै सुरु हुने बताएका छन् ।
उनले मेघौली विमानस्थलमा कालोपत्रे गर्ने गरी छिटै सञ्चालन गरिने बताए । भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवनको विकास र समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ ।
शनिबार मेघौली विमानस्थलको सर्भे कार्यको पूर्वप्रधानमन्त्री दाहालले ड्रोनको स्वीच अन गरेर शुभारम्भ गरेका छन् । “१५ वर्षतिर हुँदा धान काट्ने बेला जहाज अवतरण गर्ने समय हेरेर खाजा खाइन्थ्यो, ठिक समयमा आउँथ्यो, ठिक समयमा जान्थ्यो”, उनले भने, “विश्वका धेरै देशमा परिचित थियो, नेपालको पर्यटन, परिचय र प्रतिष्ठा चिनाएको थियो, अहिले ओझेलमा पर्‍यो ।” उनले चितवन र नवलपरासी जोड्ने गरी गोलाघाट पुल सम्भव भए बनाउने नभए घोसरघाटमा पुल बनाएरै छाडिने बताए ।
मेघौली अपार सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकीय गतिविधि बढाउन मेघौली विमानस्थल सञ्चालनमा ल्याइने उनले बताए । रिउ, राप्ती र नारायणी मिलेको ठाउँ गोलाघाट क्षेत्र सूर्यास्त अवलोकन र समुन्द्रको अनुभूति लिन सकिने क्षेत्रका रुपमा पर्यटक ल्याउन सकिने उनले बताए ।
नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले मेघौली विमानस्थलको विकासका लागि गुरुयोजना बनाउने गरी सर्भे कार्य सुरु भएको बताए । उनले कति ठूलो विमानस्थल बनाउन सकिन्छ भन्ने सोचले गुरुयोजना तयार गरिने बताए । अधिकारीले करिब ३ दिनभित्र सर्भे सकिए लगत्तै बोलपत्र आह्वान गरि स्तरोन्नतीको कार्य सुरु हुने बताए ।
भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनासँग सहमति नजिक पुगेको भन्दै अधिकारीले रात्रीकालिन उडान गर्ने गरी विस्तार हुने बताए । भरतपुर विमानस्थलको टर्मिनल विल्डिङ बनाउन करिब २ अर्बको बोलपत्र आह्वान भइसकेको उनले बताए । भरतपुर र मेघौली विमानस्थलको स्तरोन्नती तथा विस्तार भएसँगै चितवनमा आर्थिक तथा पर्यटनको क्षेत्रमा ठूलो योगदान पुग्ने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेघौली विमानस्थलमार्फत पश्चिम चितवनको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले मेघौली विमानस्थल द्रुत गतिमा विकास भएर पूर्णरुपमा सञ्चालनमा आउने बताइन् ।
मेघौली विमानस्थल २०६७ सालदेखि बन्द छ । निकुञ्ज क्षेत्रभित्र होटल सञ्चालन गर्न नपाउने नीति आएसँगै टाइगर टप्स बन्द भएपछि विमानस्थलसमेत सुनसान भएको छ । यो विमानस्थल २०१७ सालमा बनेको हो । टाइगर टप्स जंगल लजमा आउने पाहुनाहरु यही विमानस्थलमार्फत आउने गर्थे ।

प्रतिक्रिया दिनुहोस्