अर्थमन्त्री शर्मालाई सुर्खेत उवासंघको २१ बुँदे माग «

अर्थमन्त्री शर्मालाई सुर्खेत उवासंघको २१ बुँदे माग

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाहमा गरिएको संकुचनको निर्णय पुर्नविचार गर्न सुर्खेत उद्योग वाणिज्य संघले अर्थमन्त्री जनार्दन शर्मा समक्ष माग गरेको छ ।
कर्जा प्रवाहको सीमामा गरिएको संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने र निजी क्षेत्रमा थप चुनौति बढ्ने भन्दै संघले कर्जा विस्तार संकुचमा पुनर्विचार गर्नुपर्ने माग राखेको हो । अर्थमन्त्री शर्मालाई बिहीबार संघको कार्यालयमा गरिएको स्वागत कार्यक्रममा तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी विभिन्न २१ बँुदे मागपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो ।
कोभिडको महामारीबाट थलापरेको अर्थतन्त्रको पुनरुत्थानका लागि अघिल्ला वर्षहरुमा अपनाइएको पुन:कर्जा नीतिमा हाल गरिएको कडाई खुकुलो गरी निरन्तरता दिनुपर्ने मागपनि संघले गरेको छ । यस्तै बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियम अधिकतम् २ प्रतिशतसम्म लिने व्यवस्था र ब्याजदर एकल अंकमा सीमित गराउनुपर्ने माग गरिएको संघका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।
कार्यक्रममा अध्यक्ष कंडेलले सिंगो कर्णाली प्रदेशको भाग्य र भविष्य निर्धारण गर्ने पहिलो माध्यम विमानस्थल नै भएको भन्दै सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गरी स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । यसैगरी सुर्खेतको साटाखानीमा प्रस्तावित १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्य आरम्भ गर्नुपर्ने भन्दै उनले हवाईसंगै सडक यातायातमा पनि सुधारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
जवाफमा अर्थमन्त्री शर्माले विमानस्थलको धावन मार्ग विस्तारको काम बजेटको अभावले नभई इच्छाशक्तिको अभावले रोकिएको टिप्पणी गरे । आपूmले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विमानस्थलका लागि आवश्यक सम्पूर्ण काम तत्कालै थाल्ने सुझाव दिएपनि इच्छाशक्तिको अभावले काम सफल हुन नसकेको टिप्पणी गरे ।
माओवादी केन्द्रमा कर्णाली प्रदेशका प्रभावकारी नेतासमेत रहेका अर्थमन्त्री शर्माले कसको इच्छाशक्तिको अभावले काम रोकियो भन्नेबारे खुलस्त नभनेपनि सुर्खेत जिल्लाबाट केन्द्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने नेताहरुतर्फ उनको संकेत स्पष्ट थियो ।
विमानस्थलका साथै सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडक र सुर्खेत भुरीगाउँ तेलपानीमा सुरुंग मार्गले कर्णालीको समृद्धिको नयाँ खाका कोर्ने विश्वासपनि अर्थमन्त्री शर्माले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्