Logo

भूमि आयोग जिल्ला समिति सुर्खेतमा ५४ हजार बढी निवेदन

जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतमा जिल्लाका ५४ हजार बढीले आवेदन दिएका छन् ।
आयोगको जिल्ला कार्यालयका अनुसार अहिलेसम्म ५४ हजार ५ सय ९७ जनाले आवेदन दिएका हुन् । जसमध्ये अव्यवस्थित बसोबासीतर्फ ४८ हजार ७ सय २ जना रहेका छन् भने भूमिहीन, दलित र सुकुम्बासीतर्फ पाँच हजार ८ सय ९५ जना रहेका छन् । सबैभन्दा धेरै वीरेन्द्रनगरबाट निवेदन दिएको आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्याले बताए । उनका अनुसार वीरेन्द्रनगरका मात्रै १३ हजार ८ सय ८० जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । त्यसैगरी चौकुने गाउँपालिकाका चार हजार ४ सय ८१, गुर्भाकोट नगरपालिकाका ६ हजार ४ सय ७०, चिङ्गाड गाउँपालिकाका ८ सय १५ जनाले निवेदन दिएको पौड्याल जानकारी दिए । यस्तै, पञ्चपुरी नगरपालिकाका सात हजार ३ सय जना, वराहाताल गाउँपालिकाका चार हजार ६ सय ६३ जना, भेरीगंगा नगरपालिकाका आठ हजार ९ सय ५७ जना, सिम्ता गाउँपालिकाका तीन हजार २ सय ७२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिँदा लेकबेसी नगरपालिकाका चार हजार ७ सय ५७ जनाले निवेदन दिएका छन् ।
निवदेन दिन छुटेकाहरूका लागि ३५ दिनभित्र लगत संकलनका लागि निवदेन दिन पनि आयोग सुर्खेत समितिले आग्रह गरेको छ । सुर्खेत जिल्लाभर करिब ६० हजारले जग्गा प्राप्तिका लागि निवेदन दिने अनुमान आयोग सुर्खेत समितिको छ ।
यस्तै राष्ट्रिय भूमि आयोग सुर्खेत समितिले पूर्वी सुर्खेतको साविक कोटमाझखर्क का १ सय ४७ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको जनाएको छ । तर जग्गाधनी लालपुर्जा पाएका व्यक्तिले आफ्नो स्वामित्वमा जग्गा आधिकारिक रूपमा लिन नपाएको आयोगले जनाएको छ । लालपुर्जा लागू गर्नका लागि कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत गर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्