पानी सफा गर्न पानी ट्यांकीमै क्लोरिन

दोलखाको शैलुङ गाउँपालिका–४ चिनाखोरियाको दुर्गम २२ घरधुरीमा आधुनिक मिटर जडित धारा जडान भए । हरेक घरका मिटर जडित धारा जोडिएको शैलुङ गाउँपालिकाको यो पहिलो होइन ।
हरेक घरमा शुद्ध पानी वितरण गर्ने उद्देश्यका साथ शैलुङ गाउँपालिकाले ‘एक घर एक धारा’ अन्तर्गत मिटरसहितको यस्ता १० आयोजनाको ११ सय घरका धारामा जडान गरेको छ । घरघरमै धारा पाएपछि सो स्थानका स्थानीय खुसी भएका छन् ।
शैलुङ गाउँपालिका–३, ४ र ५ नं. वडामा मिटरसहितका धारा जडान गरेको हो । यसलाई गाउँपालिकाले थप आठ हजार घरका सबैमा धारा पुर्याउने लक्ष्यका साथ हरेक घरघरमा स्वच्छ पानी पुर्याउने शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए । घरघरमा धारा पुगेपछि सबैभन्दा बढी खुसी गृहिणीहरू भएका छन् । घण्टौं हिँडेर पिउन, लुगाधुन र गाई वस्तुलाई दिन पानी ल्याउनु पर्ने बाध्यता महिलाका लागि हटेको छ । अब पानी लिन जाने समयमा अतिरिक्त काम गर्नसमेत समय हुने भएको छ । धारामा मिटर जोडेपछि मिटर घुमेको आधारमा कति पानी प्रयोग गरेको थाहा हुनेछ । शैलुङ गाउँपालिका–४ का वडाध्यक्ष झम्क कार्कीले यसले चाहिनेभन्दा बढी पानी खेर नजाने बताए ।
स्थानीयको घरघरमा धारा पुर्याउन स्थानीय पनि सक्रिय रूपमा काम गरेका छन् । मुहानको संरक्षण र वितरण ट्यांकीसमेत निर्माण गरिएको छ । यस अभियानमा हातेमालो गर्न सामुदायिक विकास मञ्चजस्ता गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन् ।
गाउँपालिकाभित्र यस्ता १० योजनाबाट ल्याएका अधिकांश पानी प्राकृतिक रूपमै पिउन योग्य छन् । तर केही मुहानको पानी सोझै पिउन योग्य नभएपछि पानीको ट्यांकीमै क्लोरिनको छुट्टै ट्याकी राखेर पानी सफा बनाउने प्रणाली राखिएको सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले बताए । यसले हरेक घरमा स्वच्छ पानी झर्छ । वाटर एडको सहयोगमा शैलुङ गाउँपालिकामा १० आयोजना एउटै डिजाइनमा बनेका छन् ।
खानेपानीका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट लामो समयदेखि लगानी हुँदै आएको छ । तर सामूहिक रूपमा राखिएका धारा प्रभावकारी हुन नसकेको र मर्मत संभारमा समेत समस्या हुने भएपछि अहिले ‘एक घर एक धारा’को अभियान सुरु गरेको हो । धाराको नियमित रेखदेख र मर्मत संभारका लागि सजिलो होस् भनेर उपभोक्तासँग मासिक शुल्कसमेत लिने तयारी छ । चिनाखोरियाका उपभोक्ता कृष्णबहादुर भुजेलले अब योजनाअनुसार नै पानी व्यवस्थापन गर्ने बताए ।