वन कर्मचारीलाई हिरासतमा राखेपछि विरोध

बिना कसुर वन कर्मचारीलाई हिरासतमा राखिएको भन्दै विरोध सुरु भएको छ । घटनाको तथ्य सत्य नबुझी जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हिरासतमा राख्दा काममा खटिने कर्मचारीको मनोबल घट्ने भन्दै वन प्राविधिकले विरोध गरेका हुन् ।
प्रहरी हिरासतमा राखिएका वनकर्मी सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र रानालाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता गर्न माग गरिएको छ । माग सुनुवाइ नभएपछि सोमबार कालोपट्टी बाँधेर वन प्राविधिकले विरोध सुरु गरेका छन् ।
२ भदौमा डिभिजन वन कार्यालय सुर्खेतलाई वीरेन्द्रनगर नगरपालिका–१३ स्थित झोप्राखोला भन्ने स्थानमा अवैध रूपमा सालको तस्करी भइरहेको भन्ने सूचना प्राप्त भयो । उक्त सूचनाको आधारमा डिभिजन वन कार्यालयको कर्मचारीबाट खटिएको टोलीबाट स्थलगत रूपमा निरीक्षण भएको थियो । अवैध रूपमा काठ चोरी र कटान भएको भटेपछि उक्त कार्यमा संलग्न धनिराम लामिछानेलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया सुरु भएको डिभिजन वन कार्यालयले बताएको छ । कारबाहीको क्रममा लामिछानेले आत्महत्या गरेको तर उक्त घटनालाई अतिरञ्जित गर्दै वन क्षेत्रमा कार्यरत कर्मचारीलाई अझै हिरासतमै राखिएको भन्दै विरोध गरिएको हो ।
लामिछाने मृत्युको घटनामा संलग्न भएको आरोपमा प्रशासनले डिभिजन वन कार्यालय सुर्खेतका चारजना कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको थियो । उनीहरूले अब उप्रान्त फिल्डमा गई कामकाज गर्न नसकिने जानकारी गराउँदै यसपश्चात् हुने हानि नोक्सानीको जिम्मा प्रशासन र सम्बन्धित निकायले लिनुपर्ने जिकिर गरेका छन् ।
विभिन्न संघ संगठनले कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यायल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएका छन् ।