Logo

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरू

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरूको मागलाई सरकारले बेवास्ता गरेर दुखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।
त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जाहेज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।
सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरे । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताए । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरे । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरे ।
त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरूले लक्ष्य राखेको पनि बताए । त्यहाँका किसान संसदसमेत मन्त्रालयहरूमा गएर कफी खेती प्रवन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको आरोप लगाए ।
त्यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हीत नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई कांग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिए । सांसद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताए ।
त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरे । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्यान सभामुखको रुलिङ माग गरे ।
त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्ष यता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरू सञ्चालन भएको देशहरू धेरै रहेको बताए । उनले भारतको गगनचुमी जुम्ल्याह भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारीक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताए । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।
त्यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले योभन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताए ।
उनले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्