Logo

हिमाली भेगमा मौसमी स्टेसन बढाउने तयारी

हिमाली क्षेत्रमा मौसम पूर्वानुमानसम्बन्धी स्टेसनहरु थप जडान गर्ने तयारी भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम सम्बन्धी पूर्वसूचनालाई प्रभावकारी बनाउन थप स्टेसन जडान गर्ने तयारी गरेको हो ।
आवश्यकताअनुसार स्टेसन हुन नसक्दा मौसम तथा मनसुनजन्य विपत्तिको घटनाका विषयमा पूर्वसूचना पाउनबाट नागरिक बञ्चित रहेका छन् । पछिल्लो समय बाढीको प्रकृति पनि परिवर्तन भई साना खहरे नदीहरुमा पनि बाढी आउन थालेपछि स्टेसनहरुको माग बढ्न थालेको छ । पछिल्लो समय कृषकले बाली लगाउँदा, बाली भित्र्याउँदा, पर्यटक घुम्न निस्कँदा, हवाई यातायतका लागि मौसम सम्बन्धि पूर्वसूचना लिने गरिन्छ ।
भौगोलिक बिकटता, लगानीको अभाव, स्टेसन सञ्चालनमा देखिएको चुनौतीका कारण पनि आवश्यकताअनुसार स्टेसन राख्न नसकिएको विभागको भनाइ छ । हिमाली क्षेत्रमा कम स्टेसनहरु रहेको र त्यहाँ स्टेसन संचालन गर्नका लागि कठिन हुँदा स्टेसन जडानमा समस्या भएको विभागले बताएको छ ।
“अहिले हिमाली क्षेत्रहरुमा ९ वटा स्टेसन छन् । अब हामी त्यसलाई बढाएर २३ वटा गर्दैछौं । छ्योरोल्पा, इम्जा लगायतका क्षेत्रहरुमा यी स्टेसनहरु राखेका छौं । सगरमाथामा पनि हाम्रा मौसम पूर्वानुमान सम्बन्धि स्टेसनहरु छन्,” विभागका महानिर्देशक कमलराम जोशीले भने, “हिमाली क्षेत्रको मुख्य समस्या भनेको त्यहाँ नेटवर्क छैन, निरन्तर बस्ने मानिस पनि छैनन् ।”
त्यस्तो ठाउँमा स्टेसन राखे पनि स्याटेलाइट बेसमा जाने तयारी भइरहेको उनको भनाइ छ । “यो अलिकति खर्चिलो हुन्छ । डाटाको फ्रिक्वेन्सी ट्रान्समिसनका कुराहरु हुन्छन् । अहिले हाम्रा रियलटाइम स्टेसनहरुले ५/५ मिनेटमा डाटा ट्रान्समिसन गरिरहेका हुन्छन्,” उनले भने, “त्यही फ्रिक्वेन्सीमा स्याटेलाईट मार्फत डाटा ट्रान्समिसन गर्ने हो भने प्रति स्याटेलाईट सिस्टमको ४० लाखसम्म पर्छ ।”
विभागका अनुसार समग्र देशभर कभर गर्ने स्टेसन भए पनि खास आवश्यकता अनुसारको स्टेसन हुन सकिरहेको छैन । “कतिपय हाइड्रोपावरहरुको करिडोरमा छुटिरहेको अवस्था छ । उच्च हिमाली क्षेत्रमा पनि आवश्यकता अनुसार छैन । नेपालभर कति आवश्यकता पर्छ भनेर अध्ययन गर्नेछांै,” महानिर्देशक जोशीले थपे, “अहिले क्षेत्रगत रुपमा माग भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्