एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय

नेकपा एमालेको पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ । चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा रहेको छ ।
एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ । अहिले राष्ट्रिय स्वाधीनतामा परिरहेको असरबारे पनि ओलीको प्रतिवेदनमा उल्लेख हुने उनले जानकारी दिए । बिहीबारको बैठकमा ओलीले राजनीति प्रतिवेदनका मूल स्पिरिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर संख्यात्मक रुपमा एमाले केही पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।
उनले चुनाव हार्नुमा सत्ता गठबन्धन र धाँधलीमात्रै नभएर पार्टीभित्रको आन्तरिक गतिविधि पनि कारक रहेको बैठकमा उल्लेख गरेका थिए । शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनोट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।