अदुवा निकासीका हल खोज «

अदुवा निकासीका हल खोज

सन्धिमा लेखिएका कुराको पालना गर्ने हो भने नेपाली कृषिउपजले भारतीय बजारमा निर्वाध प्रवेश पाउनुपर्छ ।
अदुवा निकासीका हल खोज
नेपालको प्रमुख निकासीजन्य कृषि वस्तुमाथि पुनः भारत निर्यातमा अवरोध सिर्जना भएको छ । अदुवाको भारत निकासीमा यो पहिलो पटक मात्र अवरोध सिर्जना भएको होइन । यसअघि पनि भारतले नेपालबाट निकासी हुने अदुवामा विषादी भएको र क्वारेन्टाइनसम्बन्धी अन्य झमेला देखाउँदै त्यसको निर्यातमा अवरोध सिर्जना गरेको थियो । यो क्रम विगत पाँच वर्षयता नै दोहारिइरहेको छ । चालू आर्थिक वर्षमा मात्रै भारतले तेस्रो पटक अदुवाको निकासीमा अवरोध सिर्जना गरिसकेको छ । सोही कारण नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) मा प्रमुख निकासीजन्य वस्तुका रूपमा सूचीकृत अदुवाको निर्यात लगातार घट्दै गइरहेको छ । आर्थिक वर्ष ०६९/७० मा नेपालबाट १ अर्ब ३३ करोड २४ मूल्यबराबरको अदुवा निर्यात भएकोमा आव ०७०/७१ मा यो ४४ करोड ९९ लाखबराबरको निर्यातमा झर्यो भने आव २०७१/७२ मा केही सुधार भई ४६ करोड ४९ लाख रुपैयाँ निर्यात भएकोमा ०७२/७३ मा ६३ करोड ३० लाख मूल्यबराबरको निर्यात भयो भने गत आवमा ह्वात्तै २४ करोड ३३ लाख मूल्यबराबरको निर्यातमा झरेको छ । भनिरहनु पर्दैन, अदुवाको मुख्य बजार भारत नै हो । त्यहीँको बजारमा बारम्बार अवरोध झेल्नुपरेपछि नेपाली कृषि उद्यमीहरू हतोत्साही भएका छन् । विश्वको कुल अदुवा उत्पादनमा नेपालले १२ प्रतिशत योगदान गर्ने गरेको एक अध्ययनले देखाएको छ । आव ०६९/७० मा यहाँ उत्पादित साढे २ लाख मेट्रिक टनभन्दा बढी अदुवामध्ये ६३ हजार मेट्रिक टन निर्यात भएको थियो, अहिले यो अनुपात ह्वात्तै वार्षिक ३० लाख टनभन्दा तल झरेको छ । कुल निर्यातमध्ये ९५ प्रतिशत भारतमा उत्पादन भएको अवस्थामा नै तथा बाँकी मध्यपूर्वी एसियाली मुलुकहरू एवं जापान, अमेरिका र युरोपमा सुठोका रूपमा निर्यात हुने गरेको छ ।
नेपाल–भारतबीचको वाणिज्य सन्धिअनुसार नेपाली कृषिजन्य वस्तुको भारत निकासीमा कुनै पनि कर वा भन्सार लाग्दैन । सन्धिमा लेखिएका कुराको पालना गर्ने हो भने नेपाली कृषिउपजले भारतीय बजारमा निर्वाध प्रवेश पाउनुपर्छ । विश्व व्यापार संगठन (डब्लूटीओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र द्विपक्षीय वाणिज्य सन्धिहरूमार्फत गरिएका प्रतिबद्धताहरूका कारण नेपाली उत्पादनमा सोझै प्रतिबन्ध लगाउन नसकिएपछि भारतले बारम्बार विभिन्न खालका गैरभन्सार अवरोध सिर्जना गरी नेपाली निर्यातमा समस्या उत्पन्न गर्ने गरेको छ ।
पछिल्लो समयमा चीनबाट आयातित अदुवा नेपाली भनेर भारतीय बजारमा पठाइने गरेको तथा नेपाली अदुवा गुणस्तरहीन भएको आरोप भारतीय पक्षले लगाउँदै आएको छ, जबकि नेपालका इलाम, ताप्लेजुङ, धनकुटा, सुनसरी, संखुवासभा, उदयपुर, खोटाङसहितका पूर्वी पहाडी जिल्लाहरूका अतिरिक्त प्युठान, अर्घाखाँची, सुर्खेत, सल्यान, जाजरकोटसहितका जिल्लाहरूमा अदुवाको व्यावसायिक खेती हुने जग्गाको अनुपात नै बढ्दै गएको छ । धान, गहुँ, मकैसहितका अन्य बालीका तुलनामा बढी लाभ प्राप्त हुने भएकाले व्यावसायिक अदुवा खेतीमा लाग्ने किसानको संख्या बढ्दै गएको कृषि विकास मन्त्रालयको तथ्यांकबाट देखिन्छ ।
यतिखेर भारतीय विदेशमन्त्री सम्बन्ध सुधारका आयामहरूको खोजीमा विदेश मन्त्रालयका महŒवपूर्ण उच्चअधिकारीहरूसहित नेपाल आएको अवसरमा अदुवा निकासीमा देखिएको समस्याबारे नेपालले ध्यानाकर्षण गराउनैपर्छ । यसका साथै भविष्यमा यस्तो समस्या नदोहोरियोस् भनेर समाधानको हल खोज्न पनि पहल गरिनु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस्