माओवादी केन्द्रमा उम्मेदवार बन्न दर्जन बढी नेताहरु आकांक्षी «

माओवादी केन्द्रमा उम्मेदवार बन्न दर्जन बढी नेताहरु आकांक्षी

नेकपा (माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी बेनी नगरपालिका–४ मा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्न चुनावी अभियान सञ्चालन गर्ने भएको छ। बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनमा एक दर्जन बढी नेताहरुले उम्मेदवार बन्न आकांक्षा राखेका छन् ।
बैठकको एजेन्डाअनुसार नै संघ र प्रदेशतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले आफ्नो दावि प्रस्तुत गरेका थिए । आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा गोविन्द पौडेल, रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न आकांक्षा राखेका छन् । त्यसैगरी प्रदेश सभा ‘क’ मा हरिबहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न दावि रहेको छ भने प्रदेश सभा ‘ख’ मा रेशम जुग्जाली, झकबहादुर छन्त्याल, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी, र अर्जुन थापाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् ।
त्यसैगरि समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यमन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न आकांक्षा राखेका छन् । बैठकले भदौ २० गतेभित्र जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरीय विस्तारित बैठक गर्ने र भदौ महिनाभित्रमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले अन्नपूर्ण गाउँपालिकाको इन्चार्जमा बागविर पाईजा र अध्यक्षमा थमबहादुर विकलाई जिम्मेवारी दिनका लागी प्रदेश समितिमा सिफारिस गर्ने निर्णय समेत गरेको जिल्ला संयोजक सुविन जुग्जालीले जानकारी दिए ।
बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा सँगै पार्टीको जिल्ला समन्वय समिति, जनबर्गिय संगठन, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले समेत आ–आफ्नो धारणा राखेका छन् । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सल्लाहकार सदस्य चन्द्रबहादुर घिमिरेले माओवादीको एजेण्डाअनुसार संघीयता कार्यान्वयन भएको बताउँदै यसको सही कार्यान्वयनका लागि पनि माओवादीकै नेतृत्व स्थापित गर्न आवश्यक रहेको बताए । उनले जिल्लामा स्थानीय तह निर्वाचनले समेत माओवादीको शक्ति निर्णायक देखिएको बताउँदै पार्टीलाई सम्मानजनक अवस्थामा मात्रै निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेश कमिटीका सह–सचिव टेकबहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य विनोद केसीलगायतले व्यक्तिगत चाहना र अपेक्षाभन्दा माथि उठेर, समाजको परिवर्तन र पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्