प्रधानमन्त्रीलाई एमालेको आग्रह र चेतावनी «

प्रधानमन्त्रीलाई एमालेको आग्रह र चेतावनी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न संघीय र प्रदेश तहको निर्वाचनमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशंका व्यक्त गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढंगले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको भेटमा सहभागि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए । उपाध्यक्ष पौडेलले ओलीले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमाले कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी दिएको बताए । उनले भने, “लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । निकट विगतमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधारहरु छन् । त्यसले गर्दा हामीले मुख्य रुपले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित निर्वाचन सम्पन्न हुनुपर्छ र यो निर्वाचनमा दलहरुका बिचमा, आस्थाहरुका बिचमा स्वच्छ र स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । यस प्रश्नमा कहीँनिर पनि अन्यथा भयो भने नेकपा(एमाले) कडा प्रतिवादमा उत्रिन्छ । लोकतन्त्रका रक्षाका निम्ति, स्वतन्त्र निर्वाचनको रक्षाका निम्ति एमाले कडा प्रतिवादमा उत्रिन्छ भनेर चेतावनी दिएका छौँ ।”
एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागि थिए । भेटवार्ताका क्रममा एमालेले सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पुन: राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिले संविधानसम्मत रुपले पुनर्विचारका लागि फिर्ता पठाएको भए पनि पुन: प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
त्यस्तै सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि एमालेले बिरोध जनाएको छ ।
प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताएको उपाध्यक्ष पौडेलले जानकारी दिए । उनले आफूहरु नतिजाको पर्खाइमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्