गृह मन्त्रालयको पत्रकार सम्मेलनमा कानुनमन्त्री कोइराला र महान्यायाधिवक्ता खाती «

गृह मन्त्रालयको पत्रकार सम्मेलनमा कानुनमन्त्री कोइराला र महान्यायाधिवक्ता खाती

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग वि.सं. २०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरू फस्र्यौट भइसकेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताए । उनले अहिले ८७ वटा मुद्दा फस्र्योटको क्रममा रहेको बताए । मन्त्री कोइरालाले ६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरू रहेको उल्लेख गर्दै अदालतमा चलेका मुद्दाहरूमा पनि १ सय १९ मुद्दा फैसला भइसकेको बताए ।
उनले भने, ‘सरकारले विभिन्न मागहरूलाई लिएर आफ्ना मुद्दाहरू उठाउँदै आएका र राजनीतिक स्ट्रगलमा पनि लागेका प्रोसेसहरूलाई लोकतान्त्रिक प्रोसेसमा ल्याउने अभियान निन्तर नेपाल सरकारले पिस प्रोसेसबाट गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोली कमरेड प्रकाण्ड समेतले नेतृत्व गर्नुभएको वाता टोलीले सरकारले वि.सं. २०७७ फागुन २० मा सम्झौता गरेको थियो । त्यस सम्झौतामध्ये कतिपय राजनीतिक विषयहरू विभिन्न ढंगले समेट्दै गइयो । उहाँहरूमाथि ६१० वटा मुद्दा लागेको छ जिल्ला प्रशासन कार्यालयमा रहेको रेकर्डमा हेर्दा, जसमध्ये ५२३ मुद्दा फस्र्यौट गरिसकिएको छ । ८७ वटा फस्र्यौटकै क्रममा छ । ६० जिल्लामा उहाँहरूसँग लागेका मुद्दाका सम्बन्धमा धेरै हदसम्म भएको छ । अदालतमा चलेका मुद्दाहरूमा पनि ११९ मुददा फैसला भएर गइसकेका छन् । कम्प्लिट गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’
पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । उहाँले जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मद्दाहरू रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानुनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०/१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि बताए ।
उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीनबुँदे सहमति भएको थियो, त्यो सहमतिलाई हामीले जस्ताको त्यस्तै कार्यान्वयनका पाटोमा बढाउने भन्ने प्रतिबद्धता गृह मन्त्रालय, कानुन मन्त्रालयको मात्र नभई सरकारको नीति नियमको स्तरमा महान्यायाधिवक्ताको कार्यालयको पनि विशेष जिम्मेवारी रहने हुँदा यी मुद्दाहरूको संविधानसम्मत, कानुनसम्मत र विधिसम्मत रुपमा प्रक्रिया पूरा गरेर पिस सेटल गर्नका लागि यसमा हामी प्रतिवद्धताका साथ लागिरहेका छौं । हामीले ती मुद्दालाई कति फिर्ता लिन मिल्छ भनेर संविधान र कानून बमोजिम त्यो हेरेका छौँ । र, फिर्ता लिन नमिल्ने मुद्दाहरू कति छन् भन्ने सन्दर्भमा डेटाबेसमा संकलित गरेका छौँ । त्यसलाई हेर्दा अर्धन्यायिक क्षेत्रमा अथवा जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरू रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानुनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधीन छ । झन्डै १५०/१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय भएको छ ।’
महान्यायाधिवक्ता खातीले ऐन, कानुनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरू भने मन्त्रिपरिषद्बाट फिर्ता लिन नमिल्ने बताए । उनले फिर्ता लिने मुद्दाहरूमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको बतऐ । ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्