Logo

स्याङ्जा एन्फामा चरम लापरबाही

अखिल नेपाल फुटबल संघ (एन्फा) स्याङ्जाले जिल्लास्तरीय फुटबल लिग प्रतियोगिता लथालिङ्ग बनाएको छ । संघका अध्यक्ष तथा पदाधिकारीको गैरजिम्मेवारी र लापरबाहीले लिग लथालिङ्ग बनेको हो ।
२०७९ को पहिलो महिनामा लिगको छनौट भए पनि हालसम्म फाइनल खेल हुन सकेको छैन । लिगको फाइनल पुगेका इनर्जेटिक युवा क्लब र स्याङ्जा युथ क्लबका खेलाडीहरु अलमलमा परेका छन् । लिगको फाइनल खेल टुङ्गो नलाग्दा खेलाडीहरु अलमलमा परेका हुन् ।
जिल्लास्तरीय लिग सञ्चालनका लागि एन्फाको केन्द्रबाट प्राप्त ३ लाख कहाँ खर्च भयो, त्यसको लेखाजोखा छैन । एन्फा स्याङ्जाका एक सदस्यका अनुसार लिग ंसञ्चालनका लागि आएको ३ लाख समेत अपारदर्शी तबरबाट खर्च गरिएको छ ।
अनुदानको अपारदर्शी खर्च र लिगको फाइनल खेल हुन नसक्दा एन्फाका सदस्य र पदाधिकारीबीच खटपट समेत शुरु भएको छ । ३ लाख अनुदान खर्चमा हात हुनेहरुले फाइनल खेल हुने दाबी गरेपनि सदस्य तथा खेलाडीहरुले एन्फाप्रति खबरदारी बढाउँदै लगेका छन् ।
जिल्ला अधिबेशनसँगै केन्द्रिय अधिबेशन पनि भएकाले केहि अलमल देखिएको एन्फा स्याङ्जाका अध्यक्ष मुक्त रानाले बताए । अनुदानमा ३ लाख आएको र अनुदान रकमबाटै लिगको फाइनल खेल हुने अध्यक्ष रानाले जानकारी दिए । नियमित बैठक बस्न नसक्दा खटपट देखिएको उनले स्वीकारे ।
एन्फा स्याङ्जाको अधिबेशन सम्पन्न भएको करिब ४ महिना बितिसक्दा समेत नियमित बैठक बसेको छैन । बैठक बस्न नसक्दा आयव्यय लथालिङ्ग भएको छ भने लेखा प्रणाली समेत ध्वस्त भएको ती सदस्यले जिकिर गरे ।
नियमित खेल सञ्चालन गर्न र खेलाडी उत्पादनमा कमजोर रहेको स्याङ्जामा एन्फामा विवाद देखिनु राम्रो नभएको संघका पदाधिकारी नै बताउँछन् । तोकिएकै तालिकामा फाइनल खेल हुन नसक्नु र खेल सञ्चालनका लागि आएको रकममा अनियमितता हुनुले अध्यक्षको भूमिका नै गैरजिम्मेवार भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्