कांग्रेसको चुनावी अभियान वडा तहसम्मै «

कांग्रेसको चुनावी अभियान वडा तहसम्मै

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । शनिबार कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराएको हो ।
जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार सो अभियानमा पार्टीका केन्द्रिय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन् । उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सो अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन् ।
प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँटको टुंगो लगाउने काम कठिन नभएको बताए । निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै वीन वीन हुने गरी त्यसको टुंगो लगाउने बताए । प्रवक्ता महतले मतदातालाई स्वाभाविक लाग्नेगरी सिटमा दावी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ थियो । प्रवक्ता महतले भने, “कति धेरै ठाउँमा सिट पाउने भन्दा पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कुरा हाम्रा लागि महत्वपूर्ण हुन् । त्यसो भएको हुनाले आम मतदातालाई स्वाभाविक लाग्ने गरी सिट संख्याको दावी गर्न अन्य दलले पनि उपयुक्त हुन्छ । हामीले धेरै मत परिणाम ल्याउने कुरा ध्यान दिन आवश्यक हुन्छ । जनतालाई स्वाभाविक लाग्ने गरी चुनावी तालमेल भएन भने परिणाम राम्रो आउँदैन । सिट बाँडफाँट जटिल विषय भएपनि विन विन हुने गरी त्यसको बाँडफाँट हुन्छ ।” प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्