प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत ल्याउने गरी पार्टीले चुनावी घोषणापत्र निर्माण गर्छ

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागहरूले विज्ञहरूसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भईरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।
उनले पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतिहरूलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए । सचिव भट्टराईले भने, ‘नेकपा (एमाले), जोसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । र, आउने दिनमा पनि नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं । त्यसो हुँदा हाम्रो घोषणा पत्र बढी व्यावहारिक, बढी उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसावले होइन्, एउटा राजनीतिक दलको हिसावले भोली गर्न सकिने मुद्धाहरूमा केन्द्रित हुँदै व्यवहारिक मुद्दाहरूमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरूलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं । विषय विज्ञहरूसँग आवश्यक छलफल गरेर सो घोषणापत्र तयार गरिनेछ । र, त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन आमी सक्षम हुनेछौं ।’
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणापत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरे । एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । सोहीअनुसार सबै विभागहरूले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।