मुखले मात्र क्रान्तिकारी भयौं, व्यवहारमा छैनौं : प्रचण्ड «

मुखले मात्र क्रान्तिकारी भयौं, व्यवहारमा छैनौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखा परेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताए ।
उनले पार्टी पहिलेको जस्तो नरहेको भन्दै केही बिग्रिएको बताए। उनले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताए । अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्र्रतिष्पर्धा गर्नेतिर नभई आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको बताए । उनले सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गरे । उनले पार्टीका नेताहरु मुखले क्रान्तिकारी भए पनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे ।
अध्यक्ष दाहालले यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताए । उनले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यकता रहेको बताए । उनले व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुने दाबी गरे ।
अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए । अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकतामा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्