दल दर्ताको निवेदनमाथि बुधबारबाट जाँचबुझ «

दल दर्ताको निवेदनमाथि बुधबारबाट जाँचबुझ

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको बुधबारबाट जाँच गर्ने भएको छ । मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो ।
सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको बुधबारबाट जाँचपरक गर्ने, हेर्ने, कानुन बमोजिम छन् कि छैनन्, प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण शुरु हुने बताए । उनले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताए । उनले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने जानकारी दिए ।
प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरे पनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए । उनले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भए पनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने स्पष्ट पारे । उनले पार्टीमा सदस्य फरकफरक भए पनि संसदीय दल भने एउटै रहने बताए । उनले संसदीय दलको ह्विप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे ।
प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको बताए । निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान गर्न लागेको उनले जानकारी दिए । त्यसैगरी निर्वाचनका लागि चाहिने सामग्रीहरु टेण्डरको लागि पनि काम भइरहेको बताए । निर्वाचनका लागि चाहिने बजेटको बारेमा पनि आयोगमा छलफल भइसकेको छ ।
बक्स
तथ्यपूर्ण सूचना सम्प्रेषणमा प्रमुख आयुक्तको जोड
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समिति (रासस) ले मंगलबार केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरे ।
“विश्वसनीयताको अर्काे नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैंकका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन,” प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियाँलेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो । देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाईंहरु लाग्नुहोला ।”
स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वत: अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँच वर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र संघीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।
आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदानस्थल तथा केन्द्रहरुको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उनले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए । प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ/छैन भन्ने आकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्