माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम «

माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।
माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।
सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव फणिन्द्र देवकोटालाई निर्वाचन आयोगमा त्यससम्बन्धी जानकारीका लागि पठाइएको छ । दुई दलले आयोगमा संयुक्तरूपमा निवेदन दिएका छन् । यस आधारमा अब माओवादीको निर्वाचन चिह्न हँसिया हथौडा प्रयोग हुनेछ । यस्तै राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादीकै निर्वाचन चिह्न प्रयोग गर्नेछ ।
यसैबीच, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् ।
मंगलबार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्ने बताए । उनले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गरे । उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए ।
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी गरे । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुने उनले बताए ।
मंगलबार नै नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दल दर्ता गरेका छन् । दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो । नेसपा अध्यक्ष डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि मंगलबार दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्