Logo

जित सुनिश्चितताका लागि माओवादी रोजें: वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताएका छन् ।
मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताए । उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताए । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारका रूपमा रहने बताए ।
उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरू सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गर्नुभयो । उहाँले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।
उनले भने, ‘हामी गोलाकार भित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावमा जाने भन्ने दाहाल र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानुनी प्रक्रियाहरु के छन्, भोलि गाह्रो पर्ने हो कि, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भुमिका निर्वाह गर्छु सदनमा । प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रिय सभा सदस्यको पद छोड्नुपर्छ । छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैं प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ । म अहिले सूर्य चिन्ह लिएर गएँ भने हार्छु । त्यसो भएर जित्नको लागि म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसावले अरू सबै गठबन्धन र पार्टी भन्दा अघि छ । मैले भन्दा धेरै मान्छे रिसाउन सक्छन्, एमाले नेताहरु सबै रिसाउन सक्छन् । इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ म देख्दिन । तर यहाँ भित्रै छिद्र पैदा हुने र अन्तर्घात गर्ने, विद्रोही उठ्ने जस्ता गतिविधि भएभने त्यसबाट अरुलाई फाइदा पुग्छ । त्यो फाइदा पुग्दा पनि गठबन्धन धेरै अघि हुन्छ । यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन सुरु हुन्छ । प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्ने बित्तिकै मेरो सबै बिग्रिन्छ ।’
निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए । राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरुलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चनाव चिन्ह दिने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्